गठबन्धनका उम्मेदवारद्वारा झापाका ५ वटै क्षेत्रमा मनोनयन दर्ता

झापा एक्सप्रेस , १२८२०  पटक हेरिएको

झापा-आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापाका ५ वटै निर्वाचन क्षेत्रका गठबन्धनका उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका गठबन्धन दलका उम्मेदवारहरुले राजनीतिक दलका नेता तथा कार्यकर्ता सहभागिताका बीच आ–आफ्नो क्षेत्रमा मनोनयन दर्ता गराएका हुन् । झापाको पाँचवटै क्षेत्रमा स्थापित क्षेत्रस्तरीय निर्वाचन कार्यालयमा प्रस्तावक, समर्थक र शुभेच्छुकहरुको साथमा पुगेका उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् ।

झापा क्षेत्र नं–१ मा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन् । झापा क्षेत्र नं–१ क मा नेपाली कांग्रेसका गोपाल तामाङ र ख मा नेकपा माओवादीका श्यामविर लिम्बूले मनोनयन दर्ता गराएका छन् ।

झापा क्षेत्र नं–२ मा गठबन्धन दलको समर्थनमा हरिकुमार रानाले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् भने झापा क्षेत्र नं–२ प्रदेश क मा नेकपा समाजवादीका पुष्पराज पोखरेल र प्रदेश ख मा नेपाली कांग्रेसका युवा नेता खगेन्द्र मैनालीले उम्मेद्वारी दर्ता गराएका छन् ।

झापाको क्षेत्र नं–३ मा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराए भने गठबन्धन दलका तर्फबाट क्षेत्र नं–३ प्रदेशसभा क मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी र ख मा नेकपा माओवादीका पूर्णसिंह राजवंशीले उम्मेद्वारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले झापा क्षेत्र नं–४ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् भने झापा क्षेत्र नं–४ प्रदेशसभा क मा गठबन्धन दलका तर्फबाट नेकपा माओवादीका झलकसिंह दर्लामी र प्रदेशसभा ख मा नेपाली कांग्रेसका एकराज उप्रेतीले आ–आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

झापा क्षेत्र नं–५ मा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका युवा नेता खगेन्द्रपाण्डव अधिकारीले उम्मेद्वारी दर्ता गराएका छन् भने क्षेत्र नं–५ प्रदेशसभा क मा नेपाली कांग्रेसका जीवनकुमार राई र ख मा नेकपा माओवादीका रेवतराज पुरी गगनले आ–आफ्नो उम्मेद्वारी दर्ता गराएको जनाइएको छ ।

प्रकाशित मिति: २०२२-१०-०९ , समय : १८:४२:११ , २ वर्ष अगाडि

error: Content is protected !!