अमरपथ भित्र रहेको संरचनामा चल्यो कनकाई नगरको जेसिबी

झापा एक्सप्रेस , १२५८०  पटक हेरिएको

कनकाई-कनकाई नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने अवैध घर तथा टहरा भत्काउन सुरु गरेको छ। नगरपालिकाले ३५ दिने सूचना निकालेर कनकाई नगरपलिका ३ सुरुङ्गा बजार क्षेत्रमा लामो समयदेखि अमरपथको साइटमा बनेको घर जेसिबी लगाएर भत्काइएको हो।

नगरपालिकाले दुई वर्षसम्म हटाउन ताकेता गर्दा पनि नहटाएपछि आफूहरुले बाध्य भएर जेसिबी लगाएर घर भत्काउनु परेको प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए।

घर भत्काउँदा घरमा रहेका बैंक तथा व्यावसायिक पसल र बैंकको एटिएम मेसिनलाई समेत खाली गर्न लगाएर घर भत्काइएको थियो। यो अभियान बाटोमा बनेका सबै अवैध संरचना नहटुनजेलसम्म जारी रहने नगरप्रमुख पोखरेलले बताए।

यसअगाडि सडकमा परेका घर भत्काउन नगरपालिकाले सूचना जारी गरेपनि घरधनी अदालतमा गएपछि केही दिन काममा ढिलाई भएको नगरपालिकाको भनाइ छ। सडकमा पर्ने घर नहटाउदा सुरुङ्गादेखि झापा गाउँपालिका जोड्ने २४ किलोमिटर सडक कालोपत्रेको काम समेत अलपत्र परेको थियो।

निर्वाचनको मुखमा लोकप्रियता हासिल गर्न सडक छेउको घर भत्काइएको भन्दै घरधनी र पसल व्यावसायीले विरोध गरेका छन्।

यता निर्वाचन कार्यालयले निर्वाचनको काम गर्ने र नगरपालिकाले आफ्नो काम नियमित गर्ने भन्दै नगरप्रमुख पोखरेलले भने निर्वाचन र घर भत्किनुमा कुनै सम्बन्ध नरहेको बताएका छन्। नगरपालिकाले घर भत्काउदा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

प्रकाशित मिति: २०२२-११-०६ , समय : २०:५५:३६ , २ वर्ष अगाडि

error: Content is protected !!