डिकेस लामा , ११०१५ पटक हेरिएको
झापा-बजारमा मल नपाए पछि सीमावर्ती क्षेत्रका किसानहरु भारतबाट अवैधरुपमा भित्रिएका महँगो मल किन्न बाध्य हुनु परेको छ । नेपालमा ५० केजीको डीएपीलाई २३ सय ७५ मा पाइने मल भारतबाट ल्याउँदा ४० केजीकै ४ हजारसम्म तिर्नु परेको छ । यस्तै ५० केजीको प्रति बोरा ९ सयमा नेपालमा पाउने मल भारतबाट ल्याउन १६ सय देखि २ हजारसम्म तिर्नु परेको किसानले बताएका छन् । सिमावर्ती क्षेत्रमा लुकिछिपी भारतबाट ल्याएका मल लिन दक्षिण झापाका अधिकांश किसानहरु सिमावर्ती क्षेत्रमा पुग्ने गरेका छन् ।
उपाय नभए पछि बाध्यताले मल ल्याउनु परेको किसानले गुनासो पोखेका छन् । समयमा मल उपलव्ध नभएकै कारण नेपालको सवैभन्दा धेरै मकै खेती हुने झापाको झापा गाउँपालिकामा यस बर्ष मल नभएकै कारण आधा मात्रै खेती भएको झापा गाउँपालिका वडा नं. ६ का अगुवा किसान नरेन्द्र संग्रौलाले बताए ।
बजारमा मल अभाव भए पछि दक्षिण झापाको सीमावर्ती क्षेत्रमा भारतीय मल लुकीछिपी नेपाल भित्रने गरेका छन् ।धान तथा मकैमा मल चाहिने यो वेला जिल्लामा मल नहुँदा भारतीय सिमावर्ती क्षेत्रबाट महँगो मुल्यमा गुणस्तरहीन मल किनेर ल्याउनु पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् । समयमै मल नपाए पछि झापाको झापा गाउँपालिकामा क्षेत्रमा झण्डै आधा जमिन बाँझै छ । मकै छर्ने र चैते धानको व्याड राख्ने वेला मल नपाउँदा धेरै जमिन बाँझै रहेको सो क्षेत्रमा किसानलाई खेती गर्न सहजीकरण गर्दै आएका कृषि प्राविधिक क्षेत्रका विधार्थी निरु थापाले बताउनु भयो ।
मल विना मकै बालीमा गरिने लगानी समेत उठ्न नसक्ने हुन्छ । झापा गाउँपालिका क्षेत्र पुरै मकै खेती हुने क्षेत्र हो । २ बर्ष देखि मकै जोन संचालित क्षेत्रमा भारतबाट लुकिछिपी महँगो मल ल्याए पनि गुणस्तर नभएको मकैजोन समन्वय समिति झापाका संयोजक खगेन्द्र सिलवालले बताए।
प्रकाशित मिति: २०२२-०३-१३ , समय : २०:४१:३५ , ३ वर्ष अगाडि