प्रअ नियुक्तिमा विवाद, शिवसताक्षी नगरपालिका घेराउ गर्दै नाराबाजी

झापा एक्सप्रेस , १२३८५  पटक हेरिएको

पार्थ मण्डल
झापा । नगरको शिक्षा क्षेत्रमा राजनीति बढेको भन्दै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले मंगलबार झापाको शिवसताक्षी नगरपालिका घेराउ गर्दै नाराबाजी गरेका छन्। आक्रोशित बनेका विद्यार्थीहरूले नगरपालिकाको मुख्य प्रवेशद्वारको ढोका समेत भत्काइदिएको छ।

शिवसताक्षी-११ स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ति विवाद बल्झिएसँगै नेवि संघ झापाका सभापती राजेन्द्र उप्रेतीको नेतृत्वमा गएका विद्यार्थीहरूको टोलीले नगरपालिका घेराउ गर्दै नाराबाजी गरेका थिए।

विद्यार्थीहरूले शिक्षा अधिकारी राजीनामा दे, शिक्षामा राजनीतिकरण बन्द गर, तानासाही मुर्दावाद, विधिको शासन पालना गर भन्दै नाराबाजी गरेका थिए।

विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि नगरपालिकाभित्र व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रअ नियुक्तिका विषयमा विद्यार्थीहरूले नगरपालिका घेराउ गर्दै नाराबाजीमा उत्रिएसँगै त्यसको समाधानका लागि नगर प्रमुख मेगाहांग थोप्रा (रोशन)ले तत्काल सरोकारवालासहितको सर्वपक्षीय बैठक बोलाएका थिए।

सो बैठकमा नगर प्रमुख थोप्राले राष्ट्रिय रमणीय आदर्श माविको प्रअ नियुक्तिको विवाद सात दिनभित्र समाधान गर्ने प्रतिबद्धता जनाएपछि नेवि संघले आन्दोलन स्थगन गरेको जनाइएको छ।

यता राष्ट्रिय रमणीय आदर्श माविका प्रधानाध्यापक कालीप्रसाद रिजालको स्वैच्छिक अवकाशपश्चात् विद्यालय व्यवस्थापन समितिले सोही विद्यालयका शिक्षा शास्त्रमा स्नातक तह उत्तीर्ण शिक्षक लालमणि सुवेदीलाई निमित्त प्रअको जिम्मेवारी दिएपछि विवाद सुरु भएको थियो। प्रअको जिम्मेवारी दिएपछि विवाद झन् पेचिलो बन्दै गइरहेको थियो। विद्यालय व्यवस्थापन समितिले सुवेदीलाई प्रअ पदमा नियुक्ति

कक्षा १२ सम्म सञ्चालित विद्यालयमा माथिल्लो योग्यता भएको शिक्षक हुँदाहुँदै स्नातकतह मात्र शैक्षिक योग्यता भएका शिक्षक सुवेदीलाई गरेको निर्णय गरेको थियो। तर शिवसताक्षी नगरपालिका शिक्षा शाखाले प्रधानाध्यापकको जिम्मेवारी विद्यामान शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ (संशोधन सहित) ९३ (३) बमोजिम प्रअ नियुक्ति प्रक्रिया पुरा नभई आएको देखिएकाले सो प्रक्रिया पूरा गरी प्रअ नियुक्ति भएको खण्डमा खाता सञ्चालक परिवर्तन गर्न सिफारिस दिन सकिने पत्र विद्यालय व्यवस्थापन समितिलाई पठाएको थियो।

विद्यालयमा पत्र पुगेपछि पुस १ गते विद्यालय व्यवस्थापन समितिको बैठकले निमित्त प्रअ हुनुपर्नेमा भाषिक त्रुटि भएको भन्दै निर्णय सच्याएको थियो।

तर, विद्यालयमा कार्यरत शिक्षक श्रीप्रसाद खरेलले आफू प्रअका लागि योग्य भएको भन्दै दाबी प्रस्तुत गर्दै आइरहेका छन्। खरेल २०६१ बैशाख ३१ गते माध्यमिक तहमा स्थायी नियुक्ति भएका हुन् भने सुवेदी मिति २०६१ जेठ २० गते स्थायी नियुक्त भएको शिक्षा शाखाको रेकर्डमा उल्लेख छ।

यता नेपाली कांग्रेस नगर समितिले सोमबार मात्रै शिवसताक्षी नगरपालिकामा ध्यनाकर्षणपत्र बुझाएको थियो। राष्ट्रिय रमणीय आदर्श मावि प्रअ नियुक्तिको विषयलाई लिएर नगरपालिकाले गरेको निर्णय सच्चाउन माग गर्दै कांग्रेसले ध्याकर्षणपत्र बुझाएको थियो।

नगर कार्यपालिकाको बैठकले प्रअ विवाद नटुङ्ग्याउँदै विद्यालयका लेखापाल र नगर शिक्षा शाखा कर्मचारीको संयुक्त हस्ताक्षरमा खाता सञ्चालन गरी शिक्षकको तलब भुक्तानी गर्न बाटो खुल्ला गरिदिएको थियो।

तर, नगरपालिकाको सो कदम कानुन विपरीत रहेको भन्दै नेपाली कांग्रेस नगर समितिले शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीलाई तथा प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईलाई ध्यानाकर्षण पत्र बुझाइसकेको छ। कांग्रेसले निमित्त प्रअ सुवेदीको हस्ताक्षरबाटै विद्यालयको खाता सञ्चालन गरी विद्यालयको दैनिक प्रशासनिक कामकाज सहज ढंगबाट सञ्चालन गराउनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ।

प्रकाशित मिति: २०२३-०१-१० , समय : १८:०५:४४ , २ वर्ष अगाडि

error: Content is protected !!