नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री यादव

रासस , १२७३५  पटक हेरिएको

वीरगञ्ज-मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा वीरगञ्ज महावाणिज्य दूतावासद्वारा आज यहाँ आयोजित विशेष समारोहमा उहाँले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतको विकासमा भारतीय सरकारको महत्त्वपूर्ण सहयोग रहेको बताउनुभयो । नेपाल र भारतबीच बेटीरोटीको सम्बन्धसँगै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा एकअर्काका पूरकसमेत रहेको चर्चा गर्नुहुँदै मुख्यमन्त्री यादवले भन्नुभयो, “ठूलो सङ्ख्यामा नेपाली नागरिकले भारतमा रोजगारी प्राप्त गरेका छन्, थुप्रै भारतीय नागरिकले नेपालमा रोजगारी प्राप्त गरेका छन् ।” यसबाहेक शिक्षा, स्वास्थ्यको क्षेत्रमा समेत दुवै देश एकअर्काको पूरक भएको उहाँको भनाइ थियो ।

नेपाल–भारतको भाषा, संस्कृति, वेशभूषासमेत एकजस्तो भएको तथा एकअर्काको सुख, दुःखमा सहभागी हुँदै आएको उल्लेख गर्नुहुँदै उहाँले भारतीय स्वतन्त्रताको आन्दोलनमा नेपालीहरूको समेत निकै ठूलो योगदान रहेको बताउनुभयो ।

भारत सरकारको सहयोगमा वीरगञ्जमा निर्माण भएको सुक्खा बन्दरगाह नेपाली उद्योगी व्यवसायीलाई निकै सहयोगी बनेको बताउनुहुँदै उहाँले भारतीय लगानीकर्तालाई नेपालमा निवेश गर्नका लागि नेपाल सरकार हरसम्भव सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा महावाणिज्य दूतावास वीरगञ्जको तर्फबाट महावाणिज्यदूत नितेशकुमारले सम्पूर्ण भारतीय समुदाय तथा नेपालमा बसोबास गरिरहेका भारतका मित्रहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा वीरगञ्जका विभिन्न स्कुलका छात्रछात्राले नृत्य, गीत तथा झाँकी प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: २०२३-०१-२६ , समय : २१:१५:५६ , २ वर्ष अगाडि

error: Content is protected !!