झापा एक्सप्रेस , १६७६९ पटक हेरिएको
शरणामती-झापाको दक्षीणी भागमा अवस्थित झापा गाउँपालिका भारतको बिहार सँग सिमाना जोडिएको गाउँपालिका हो।कनकाई नदी र बिरिङ नदीको बिचमा पर्ने यस पालिकाको परिचय यस प्रकार छ।
ऐतिहासिक पृष्ठभूमि
झापा गाउँपालिका झापा जिल्लामा अवस्थित छ। बि.स २०७३ सालमा सङ्गीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा झापा जिल्लामा साविकको कुमरखोद, टाघनडुब्बा र शरणामती गाउँ विकास समितिहरूलाई झापा गाउँपालिका बनाइएको हो।
पृथ्वीनारायण शाहको शासन कालमा पूर्व मोरङ र झापामा सेन वंशको राज्य थियो। सन् १७७३ मा अभिमान सिंह बस्नेत र सरदार सारथी भण्डारीको नेतृत्वमा आएको फौजले आक्रमण गरी मोरङ र झापालाई कब्जा गरे त्यहाँका राजा कर्णसेन भागेर धरान, विजयपुर पुगे सन् १७७४ मा आक्रमण गरी विजयपुरलाई पनि कब्जामा लिए। अभिमान सिंह बस्नेतको नेतृत्वको फौजले पल्लो किरातको उत्तरी सिमाना र पूर्व तमोर नदीसम्म अधिकार जमायो ।सिंहलिला(फालेलुङ्ग) डाँडाको पानी ढलको पश्चिमतर्फ बसोबास गरेका र सिक्किम राज्यबाट सताइएका लिम्बू जातिहरू गोर्खालीसंग सम्झौता गरी नेपाल एकिकरणमा समाहित भएकाले पृथ्वीनारायण शाहको समयमा नेपालको सिमाना पूर्वी पहाडतर्फ सिंहलिला पहाडसम्म र मैदानतर्फ कन्काई नदी क्षेत्रसम्म फैलियो । सन् १७८३ मा अर्थात् रणबहादुर शाहको शासनकालमा नेपालको सिमाना पश्चिमतर्फ कुमाउँ, गढवाल र पूर्वतर्फ टिष्टा नदीसम्म पुगेको थियो। तर सन् १८१४ मा अङ्ग्रेजले विराटनगर र रङ्गेलीबीच पर्ने ‘धनपुर’ भन्ने स्थान र झापा बजार साबिक कुमरखोद गाविसमा आक्रमण गरी आफ्नो कब्जामा लियो ।
नामाकरण
पहिले झापा जिल्लाको सम्पूर्ण प्रशासनिक कार्य मोरङ गोश्वाराले हेर्ने गर्दथ्यो । पछि उक्त मोरङ गोश्वारा हालको कुमरखोद गाविस अन्तर्गत पर्ने झापा गाउँमा सारियो जुन गाउँ साविकको कुमरखोद गाविसमा भाषा बजार नामले चिनिन्छ । तसर्थ त्यस झापा गाउँको नामबाटै कालान्तरमा यस ठाउँ (जिल्ला) को नाम झापा रहन पुग्यो। झापा जिल्लाका आदिवासी जाति राजवंशीहरूको राजवंशी भाषामा झापको अर्थ ढकनी वा विर्को भन्ने अर्थ लाग्ने र शताब्दीऔं देखि बन जंगलबाट ढाकिएको वा छोपिएको हुँदा यस ठाउँको नाम झापा रहन गएको भन्ने भनाई रहिआएको छ ।राज्य पुनसंरचना अन्तर्गत कुमरखोद, टाघनडुब्बा र शरणामती गाविसलाई समेटेर नयाँ गाउँपालिका निर्माण गर्दा जिल्लाकै नाममा रहेको र विगतको ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राख्दै यस गाउँपालिकाको नाममा झापा नै राख्न सबैको सहमती भए अनुसार झापा नामाकरण गरिएको हो
हावापानी
यस गाउँपालिका मनसुनी हावापानी (अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ) पाइन्छ। गृष्मकालमा यहाँको तापक्रम ३२ डिग्री सेल्सियस देखि ३५ डिग्री सेल्सियस सम्म पुग्दछ भने शीतकालमा १५ देखि १० डिग्री सेल्सियससम्म ओर्लिन्छ । कुनै वर्ष अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको र न्यूनतम तापक्रमम डिग्री सेल्सियससम्म झरेको पाइन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बङ्गालको खाडीबाट आउने मनसुनी हावाबाट यहाँ २७१.७५ मिलि मीटरसम्म वर्षा हुने गरेको पाइन्छ । यहाँको हावापानी ज्यादै उष्ण र शुष्क हुँदा स्वास्थ्यका लागि उपयोगी नभएपनि कृषि कार्यका लागि उपयोगी मानिन्छ ।
भौगोलिक अवस्थिति (सिमाना)
झापा गाउँपालिका पूर्वी नेपालको झापा जिल्लाको दक्षिणपूर्वी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागु गर्दा झापा जिल्लामा साविकको कुमरखोद, टाघनडुब्बा र शरणामति गाउँ विकास समितिहरुलाई झापा गाउँपालिका बनाइएको हो । झापा गाउँपालिकाको कूल क्षेत्रफल ९४.१२ वर्ग कि.मी रहेको छ । यो गाउँपालिका ७ वडा मा विभाजन गरिएको छ । २०६८ को जनगणना अनुसार यस गाउपालिकाको कूल जनसंख्या ३४,६०१ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा बाह्रदशी गाउँपालिका, पश्चिममा गौरिगंज गाउँपालिका र शिवसताक्षी नगरपालिका, उत्तरमा कनकाई नगरपालिका र दक्षीणमा भारतको बिहार रहेको छ ।
धारातालिय अवस्था
झापाको सुरुंगा देखिबाट दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतहबाट ७० मिटर देखि १०० मिटरसम्मको उचाईसम्म फैलिएको समथर क्षेत्र रहेको छ । यो गाउँपालिका उत्तर दक्षिण फैलावट कनकाई नगरपालिकाबाट १७ किलोमिटरसम्म दक्षिण तर्फ फैलिएको छ। कनकाई नदि र विरिंग खोलाको विचमा रहेको यस पालिकाको धरातल प्राय समथर रहेको छ ।दुवै तर्फ खोलाहरु भएको हुँदा यहाको माटो नदीले बगाएर थुपारेको बालुवा, पत्थर,ककंड आदि मिलेर बनेको छ ।
सामाजिक अवस्था
झापा गाउँपालिकामा जातजातिका हिसाबले मिश्रीत बसोबास भएता पनि जनजाती आदिबासीहरु मध्ये पनि सन्थाल जातिको बाहुल्यता रहेको छ ।
“अधिकांश मानिसहरुको मुख्य पेशा कृषि तथा पशुपालन रहेको छ। विद्यालयस्तरको शिक्षाको पहुँच भएता पनि उच्च शिक्षाका लागि गाउँपालिका बाहिर जानु पर्ने अवस्था रहेको छ ।शिक्षा क्षेत्र बिकासका लागी स्वास्थ्य सेवा विकासका लागि पहलहरु भैरहेका छन। कृषिमा आधारित जनजीवन भएको हुँदा शिक्षा तालिम तथा शसक्तिकरण समेत कृषिजन्य उद्यमशीलतामा आधारित रहेर सञ्चालन हुन सके यहाँका युवाहरुमा रोजगारी सृजना गर्न सकिने प्रसस्त सम्भावनाहरु रहेका छन ।
स्रोत-झापा गाउँपालिकाको विस्तृत वस्तुगत विवरण (पाश्वचित्र)२०७६
प्रकाशित मिति: २०२२-०३-१४ , समय : १८:५५:०५ , ३ वर्ष अगाडि