झापा एक्सप्रेस , १९००५ पटक हेरिएको
भद्रपुर ।झापाको चन्द्रगडीमा जारी प्रथम भद्रपुर गोल्डकपको दोस्रो दिनको खेलमा नेपाल पुलिस क्लवलाई हराउदै चर्च ब्वाइज युनाइटेड बिजयी भएको छ ।
सोमबार भएको खेलमा नेपाल पुलिस क्लबको चुनौतीलाई ३–० को अन्तरले पराजित गरेको हो । बिजयी चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
चर्च ब्वाइजको जितका लागि आशिष चौधरीले दुई र गगनदीप सिंहले एक गोल गर्नुभयो । सिंहले ४० औँ र चौधरीले खेलको ५६ औँ र ६० औँ मिनेटमा गोल गरे । किप्परबाट पञ्च भएको बललाई पेनाल्टी एरियामा रहेका सिंहले गोलमा परिणत गर्दै गोल गर्नुभएको हो ।
पहिलो गोलपछि आग्रमक बनेको चर्च ब्वाइजले दोस्रो हाफमा थप दुई गोल ग¥यो । दुवै गोल चर्च ब्वाइजका स्ट्राइकर चौधरीले गर्नुभयो ।
खेलको ५६ औँ मिनेटमा सुवास गुरुङले गरेको पासमा पेनाल्टी एरियामा रहेका चौधरीले गोलमा परिणत गर्नुभएको हो । लगत्तै ४ मिनेटपछि चौधरीले अर्को गोल गर्नुभयो ।
खेलको अधिकांश समय पुलिस क्लब चर्च ब्वाइजको दबाबमा परेको थियो । खेलभर पुलिसको प्रदर्शन कमजोर रहेको थियो ।
खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका आशिष चौधरी घोषित हुदै नगद २० हजार प्राप्त गर्नुभयो ।
जितसँगै चर्च ब्वाइजले क्वाटरफाइनलमा बुधबार मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ । मंगलबारको पहिलो क्वाटर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र संकटाबीच हुने आयोजक भद्रपुर–झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले बताउँनुभयो ।
प्रथम भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।
प्रथम भद्रपुर झापा गोल्डकपलाई चौधरी ग्रुपको मुस्ताङ बियरले मुख्य प्रायोजन गरेको छ ।
प्रकाशित मिति: २०२३-०२-२० , समय : २०:२३:१८ , २ वर्ष अगाडि