झापा एक्सप्रेस , ४१४१८ पटक हेरिएको
कनकाई। मैनाली समाज झापाले सप्त अहोरात्रीय युगल नारायण महायज्ञ गर्ने भएको छ ।
पितृमोक्षाका लागि फागुन २९ गतेदेखि चैत ६ गतेसम्म मैनाली समाज झापाले महायज्ञ आयोजना गर्न लागेको हो । मैनाली समाज झापाको सभाहलमा आज बुधबार पत्रकार सम्मेलन गरी महायज्ञबारे जानकारी दिएको हो । महायज्ञ कालीकादेवी मन्दिर कनकाई–१ जामुनबारीमा हुनेछ ।
समाजका केन्द्रीय उपाध्यक्ष एवम् महायज्ञ आयोजक समितिका अध्यक्ष मीनप्रकाश मैनालीले झापामा पहिलो पटक सप्त अहोरात्रीय युगल नारायण महायज्ञ गर्न लागिएको जानकारी दिनुभयो । उहाँले पुराण आयोजना गर्न करिब २० लाख रुपैयाँ लाग्ने बताउनुभयो । “पुराणमा आर्थिक संकलन गर्दैनौं”, उहाँले भन्नुभयो, “स्वेच्छिक गोप्य दान मात्र लिन्छौं ।”
पशुपति जानकी जीवनदेव कुञ्ज वेदपतनका अजितबाबु गौतमको प्रमुख वाचकत्वमा हुने महापुराणमा २४ जना साधकहरुले पूजापाठ गर्ने मैनाली समाजका केन्द्रीय सदस्य केदारनाथ मैनालीले बताउनुभयो । २०४१ सालदेखि शुरु भएको नारायण महायज्ञ १ हजार ९७५ स्थानमा सम्पन्न भइसकेको र झापामा पहिलो पटक हुन लागेको यो महायज्ञ १ हजार ९७६ औं रहेको उहाँले बताउनुभयो ।
महापुराणका लागि २०१ सदस्यीय मूल आयोजक समिति र १० वटा विभिन्न उपसमिति गठन गरिएको छ । मूल आयोजक समितिको संयोजकमा मैनाली समाजका केन्द्रीय उपाध्यक्ष मीनप्रकाश मैनाली रहेका छन् । त्यस्तै, सहसंयोजकमा रामप्रसाद मैनाली, डिल्लीराम मैनाली, लीला मैनाली, श्रीप्रसाद मैनाली, मेनुका मैनाली र अम्बिका मैनाली रहनुभएको छ ।
त्यस्तै, सचिवमा रामप्रसाद मैनाली, सहसचिवमा रेणुका मैनाली, कृष्णकुमार मैनाली र कोषाध्यक्षमा अनुषा मैनाली रहनुभएको छ ।महापुराणमा मैनाली समाजले आयोजना गरे पनि सबैका लागि खुला रहेको आयोजकले जनाएको छ । सम्पूर्ण अतृप्त प्राणीहरुको आत्मा तृप्तीका लागि महायज्ञ गर्न लागिएको मैनाली समाजका केन्द्रीय सचिव डील्लीराम मैनालीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०३-०१ , समय : २०:०८:१४ , २ वर्ष अगाडि