झापा एक्सप्रेस , १९००४ पटक हेरिएको
नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नाम ‘कोशी’ तत्काल खारेज गरी ऐतिहासिक पृष्ठभूमिको आधारमा नाम राख्न माग गरेको छ। बिहीबार महासंघले विज्ञप्ति जारी गर्दै बुधबार राति निर्णय भई राखिएको प्रदेशको नाम कोशी हटाउन माग गरेको हो।
महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले हिजो भएको निर्णयले जनजातिको आन्दोलनको अपमान मात्रै नभई १ नम्बर प्रदेशका आदिवासी जनजातिको पहिचान र उनको समग्र अस्तित्वलाई नामेट पार्ने कुचेष्टा भएको बताए।
‘हामी कोशी प्रदेश नाम तत्काल खारेज गरी ऐतिहासिक पृष्ठभूमिको आधारमा त्यहाँको मानव भूगोलको सभ्यता, इतिहास, भाषा संस्कृतिको पहिचान सम्बोधन गर्ने प्रदेशको नाम राख्न जोडदार माग गर्दछौँ’‚ विज्ञप्तिमा भनिएको छ।
तत्काल यो निर्णय नसच्याए पहिचानवादी शक्तिहरू मिलेर संघर्षकै मैदानबाट कोशी प्रदेश नाम फाल्ने महासंघको चेतावनी छ। महासंघका महासचिव दिवस राईले पनि प्रदेश १ को नाम छलकपटपूर्ण र षडयन्त्रपूर्ण ढङ्गबाट कोशी प्रदेश राखिएको भन्दै आपत्ति जनाए।
‘आदिवासी जनजातिको माग र आन्दोलनले स्थापित गरेको पहिचानको आन्दोलन र त्यसको अस्तित्वलाई नामेट पार्ने यो षड्यन्त्रको भण्डाफोर गरौँ र लामो संघर्षको तयारीमा जुटौँ, पहिचान स्थापित नभएसम्म जति वर्ष लागोस्। हाम्रो जुझारु आन्दोलन निरन्तर अगाडि बढ्नेछ कदापि पछाडि हट्नेछैन’‚ उनले भने।
प्रकाशित मिति: २०२३-०३-०२ , समय : १९:१२:४१ , २ वर्ष अगाडि