झापा एक्सप्रेस , ७६९३ पटक हेरिएको
बिर्तामोड, २४ फागुन । नेकपा माओवादी केन्द्र झापाले पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध हत्या अभियोगसहितको मुद्धा दर्ता गराएकोमा आपत्ति जनाएको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै शान्ति सम्झौताविरुद्ध भएको यसखाले गतिविधिको प्रतिवाद गर्न चेतावनी समेत दिएको छ ।
माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नि) र सचिव मोहन टुडुद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘१० वर्षे जनयुद्ध, २०६२÷०६३ को आन्दोलन र त्यसको जगमा सम्पन्न भएको शान्ति सम्झौता, अन्तरिम संविधान, पहिलो र दोस्रो पटक सम्पन्न संविधानका निर्वाचन तथा संविधानबाट निर्मित संघीयता, धर्म निरपेक्षता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्र आधारभूत संरचनासहितको नेपालको संविधान र अग्रगामी उपलब्धिहरुविरुद्धको हर्कत हो ।’
झापा माओवादी पार्टीले बृहत शान्ति सम्झौताविरद्ध प्रतिकुल असर गर्ने कुनै पनि निर्णय अघि नबढाउन सर्वोच्च अदालतलाई सचेत पनि गराएको छ । उसले यसखाले गतिविधिले शान्ति प्रक्रियामा गम्भीर चुनौती सिर्जना हुने भएकाले शान्ति सम्झौता पक्षधर पार्टीहरु र आमजनता एकजुट हुन आह्वान गरेको छ ।
प्रकाशित मिति: २०२३-०३-०८ , समय : १५:०४:०८ , २ वर्ष अगाडि