मध्यपहाडी लोकमार्गमा गुणस्तरहीन सामग्री प्रयोग

पत्रपत्रिका , २५९५०  पटक हेरिएको

राजकुमार भट्टराई
खोटाङ-खोटाङस्थित मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–दिक्तेल सडकखण्ड कालोपत्रेको काममा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ । पटक–पटक म्याद थप्दा पनि काम नभएपछि ठेक्का तोड्न लाग्दा काम सुरु गरेको निर्माण कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको हो ।

निर्माण कम्पनीले तयारी गरिरहेको सबबेसको गुणस्तरमा प्रश्न उठेको छ । ढलानका क्रममा माटो मिसिएको बालुवासमेत प्रयोग भइरहेको प्रस्टै देख्न सकिन्छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलगायतको टोलीले निरीक्षण गर्दा बालुवामा माटो मिसिएको भेटिएको उहाँहरूको भनाइ छ । बालुवा राखिएको थुप्रोमा बाहिरको बालुवा राम्रो देखिए पनि भित्र सबै माटो मिसिएको नगरप्रमुख भट्टराईले बताउनुभयो । गुणस्तरहीन सामग्री प्रयोग गरेर निर्माण गरिएका संरचना तत्काल भत्काएर पुनः निर्माण गर्न निर्देशन दिएको समन्वय समितिका प्रमुख राईले बताउनुभयो । मध्यपहाडीको भोजपुरभित्र पर्ने सबै खण्ड तथा खोटाङभित्र पर्ने अन्य सडकखण्ड कालोपत्रे भइसक्दा चखेवा भन्ज्याङदेखि सेखुवासम्मको १० किलोमिटर सडक हालसम्म कालोपत्रे हुन सकेको छैन । खोटाङभित्रको जयराम–हलेसी, हलेसी–दिक्तेल र दिक्तेल–सेखुवासम्मको खण्ड कालोपत्रे भइसकेको छ । अलपत्र परेको चखेवा भन्ज्याङ–सेखुवा सडक पटकपटक म्याद थप्दा पनि काम पूरा गर्ने छाँटकाँट नदेखिएपछि मध्य पहाडी लोकमार्ग कार्यालय धुलिखेलले ठेक्का तोड्न सडक विभाग समक्ष सिफारिस गरेको थियो । स्थानीयले पनि ठेक्का तोडेर अन्य प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

जब ठेक्का तोड्न सिफारिस गरियो तब निर्माण कम्पनीले पुस अन्तिमबाट काम गर्न सुरु गरेको छ । भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्धिसाईले २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरी २०७२ चैत २ गते चखेवा भन्ज्याङ–सेखुवाखण्ड कालोपत्रेको सम्झौता गरेको थियो तर सम्झौताअनुसार काम नगरेपछि थप भएको पहिलो म्याद २०७७ पुस १३, दोस्रो म्याद २०७८ असार १३ र तेस्रो पटक थप भएको म्याद २०७८ फागुन ३० गते सकिएको छ । ३२ करोड रुपियाँमा कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनीले तीन÷तीन पटक म्याद गुजिँ्रदासम्म काम सकेन । ठेक्का तोड्न सिफारिस भएपछि बल्ल काममा खटेको निर्माण कम्पनी अन्ततः गुणस्तरहीन सामग्री प्रयोग गरेर काम सक्न लागि परेको छ । वैशाख मसान्तसम्ममा काम सम्पन्न गरेर सडक हस्तान्तरण गर्ने प्रतिबद्धता गरेको निर्माण कम्पनीले भनेको समयमा काम नसक्ने अवस्थामा पुगेको छ । बाह्रौँ संशोधनअन्तर्गत उक्त आयोजनाको म्याद आगामी असार मसान्तसम्म थप भएको छ तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण थप म्यादभित्र सडक कालोपत्रेको काम सम्पन्न हुने अवस्था नदेखिएको सोकला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईको भनाइ छ । ढिलासुस्ती भएपछि ठेक्का तोड्नका लागि सिफारिस गरिँदा चैत पहिलो हप्ताबाट डीबीएसटीको काम सुरु गर्ने र वैशाख मसान्तसम्ममा डीबीएसटीको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो तर प्रतिबद्धताअनुसार काम नभएको अध्यक्ष राईले बताउनुभयो । कालोपत्रेको ठेक्का सम्झौता भएको आठ वर्षसम्म पनि सडकको काम पूरा नहँुदा स्थानीय र यात्रुले विशेषगरी बर्खामा सास्ती खेप्नु परेको छ ।

भोजपुर जिल्लाबाट राजधानी काठमाडौँ त्यही बाटो भएर सवारीसाधन आवतजावत गर्ने गरेका छन् । बर्खामा सवारीसाधन फसेर त्यहाँ बाससमेत बस्नु परेको तीतो अनुभव यात्रुसँग छ । सवारीसाधन फस्ने समस्याले अस्पताल लगेका बिरामीको बाटैमा ज्यान जानसक्ने अवस्था रहेको स्थानीय मीनाकुमारी राईले बताउनुभयो ।आजको गोरखापत्रमा खबर छ।

प्रकाशित मिति: २०२३-०३-१५ , समय : १०:३७:१३ , २ वर्ष अगाडि

error: Content is protected !!