सस्तो जग्गा मिलाइदिने भनेर ३२ लाख लिएर फरार चार लुटेरा पक्राउ

पार्थ मण्डल , २४१३२  पटक हेरिएको

झापा । झापाको अर्जुनधारास्थित नयाँ बसपार्कमा सस्तो मूल्यमा जग्गा दिलाइदिन्छु भन्दै एक महिलाबाट ३२ लाख रुपैयाँ लिएर फरार घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रामेछाप जिल्ला देउराली गाउँपालिका-२ घर भई भक्तपुर बस्ने ३९ वर्षीय राजेश श्रेष्ठ, पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका-४ घर भई हाल काठमाडौँको गर्जुधारा बस्ने ५२ वर्षीय जनक रेग्मी, मोरङ जिल्ला बेलबारी नगरपालिका-६ घर भई हाल झापा मेचीनगर नगरपालिका-६ बस्ने ५५ वर्षीय रणबहादुर पोखरेल र झापा कमल गाउँपालिका-५ बस्ने ५२ वर्षीय विजय राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

घटना विवरण अनुसार अर्जुनधारा नगरपालिका-११ स्थित नयाँ बसपार्क नजिकै दुई कट्ठा जग्गा सस्तो दरमा बिक्रीमा भइरहेको र खरिद गर्न आउनु भनी विजयले मोरङ जिल्ला उर्लाबारी नगरपालिका-४ बस्ने विष्णुमाया सापकोटा सुबेदी र अनिल विश्वकर्मालाई चैत ३० गते दिउँसो १ बजेको समयमा बोलाएका थिए।

तर, विजयले जग्गा खरिदबिक्री गर्ने कुनै बैना कागजात नबनाई विष्णुमायाले लिएर आएको ३२ लाख रुपैयाँ लिएर त्यहाँबाट फरार भएका थिए। आफ्नो रकम लुटिएको भन्दै पीडितले तत्काल इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिए।

प्रहरीमा उजुरी परेसँगै लुटिएको रकमसहित दुई जना इलामतर्फ भागेको सूचना पाए लगतै झापा प्रहरीले जिल्ला प्रहरी कार्यालय इलामसँग सहकार्य गरी इलाम नगरपालिका-७ पुरानो बसपार्कस्थित देउराली होटेलमा लुकीछिपी बसेको अवस्थामा राजेश र जनकलाई प्रहरीले १४ लाख ६५ हजार नगदसहित पक्राउ गरेको डीएसपी रिजालले बताए।

त्यसैगरी सोही घटनामा संलग्न रहेको विजय र रणबहादुरलाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-११ स्थित थापा होटेल एन्ड लजमा लुकीछिपी बसेको अवस्थामा नगद १३ लाख रुपैयाँसहित पक्राउ गरेको उनले बताए। पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान अघि बढाएको उनको भनाई छ।

यस्तो थियो योजना

पक्राउ परेकामध्ये विजय र रणबहादुरले विष्णुमायाको रकम ठगी गर्ने योजना बनाएका थिए। विजय र विष्णुमाया एकै गाउँका बासिन्दा हुन्।

उनीहरूको चिनजान पुरानो हो। त्यही चिनजानको आधारमा विजयले विष्णुमायालाई नयाँ बसपार्कमा सस्तो मूल्यमा दुई कट्ठा जग्गा दिलाइदिन्छु भनेर विश्वास दिलाएका थिए।

त्यसपछि विजयले चैत २८ गते राजेश र जनकलाई सम्पर्क गरी जग्गा खरिद गर्ने मानिस झापा आउँदै भनी जानकारी गराएको थियो। त्यसपछि चार जनाले अर्जुनधाराको नयाँ बसपार्कमा बसेर रकम ठगी गर्ने योजना बनाए।

योजना बनाइसकेपछि विजयले चैत ३० गते विष्णुमायालाई नयाँ बसपार्कको नव ज्योति होटेलमा बोलाए र उनीसँग रकम लिएर त्यहाँबाट भाग्न सफल भएको डीएसपी रिजालले बताए।

प्रकाशित मिति: २०२३-०४-१४ , समय : २१:२९:४७ , २ वर्ष अगाडि

error: Content is protected !!