झापा एक्सप्रेस , २२७७३ पटक हेरिएको
कनकाई, १३ बैशाख । झापाको कनकाई नगरपालिका वडा नं. १ कार्यालयले गत चैत १७ गते आएको हावाहुरीसहितको असिना पानीले घरमा क्षति पुर्याएका वडाबासीलाई आज राहत रकम प्रदान गरेको छ ।
नगरपालिका परिसरमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले हावाहुरी तथा असिना पीडित परिवारलाई राहत रकम हस्तान्तरण गर्नुभयो । क्षति धेरै भए पनि वडाबासीलाई केही मात्रामा भए पनि स्थानीय सरकारको प्रत्याभूति होस् भनेर राहत प्रदान गरिएको उहाँले बताउनुभयो ।
“बजेट अभावमा नगरका धेरै काम हुन सकेको छैन”, उहाँले भन्नुभयो, “तर पनि वडाको बजेटलाई प्राथमिकतामा राखेर सकेसम्म जनताका आवश्वकयता पूरा गर्न लागिपरेका छौं ।” नगरमा भएको क्षतिको विवरण संकलन गरी राहतका लागि संघ र प्रदेशमा पठाइएको समेत उहाँले बताउनुभयो ।
पहिला पूरै क्षति भए पनि केही पाउने स्थित नरहेको बताउँदै उहाँले स्थानीय सरकार बनेपछि त्यो अवस्थाको अन्त्य भएको समेत सुझाउनुभयो ।
पहिलो चरणमा हावाहुरीसहितको असिनाले घरमा क्षति पुगेका परिवारलाई थोरै भए पनि राहत होस् भनेर राहत प्रदान गरिएको वडाध्यक्ष सुशीलकुमार पोखरेलले बताउनुभयो ।
कृषिबालीमा क्षति पुगेकाहरुलाई राहतका लागि सम्बन्धित निकायहरुमा पहल भइरहेको र नगर तथा वडागत रुपमा प्राप्त प्रतिवेदनका आधारमा क्षति भएको मकै खेतीका लागि उन्नत जातको धानको विउ उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जानकारी दिनुभयो।
आज वडा न १ का घरमा पूर्ण क्षति भएका १८ परिवारलाई प्रतिपरिवार रू १० हजार, आंशिक क्षति भएका १८ परिवारलाई प्रतिपरिवार रू सात हजार ५०० र सामान्य क्षति भएका १६ जना परिवारलाई रू पाँच हजारका दरले वितरण गरिएको वडा सदस्य हरिकुमार राईले जानकारी दिनुभयो ।
कार्यक्रममा शिक्षा शाखाका प्रमुख पिताम्बर गौतम, कृषि शाखाका प्रमुख यदुनाथ उप्रेती वडा सदस्य निर्मला खड्का, दलबहादुर थापा, संजिता घतानी ल्वागुन, कर्मचारी लक्ष्मी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०२३-०४-२६ , समय : २१:१२:४८ , २ वर्ष अगाडि