झापा एक्सप्रेस , ४०६९६ पटक हेरिएको
सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तरर्गत झापाको झापा गाउंपालिकामा निमार्ण गरिएका २ सय ३८ वटा आवास सम्बन्धीत घरधनीलाई हस्तानतरण गरिएको छ ।
बिर्तामोड २ मा मुख्य कार्यालय रहेको सहारा नेपाल, ह्याविट्याट फर ह्यूम्यानिटी नेपाल तथा झापा गाउँपालिकाको त्रिपक्षीय साझेदारीमा आर्थिक बर्ष २०७८÷०७९ र ०७९÷०८० मा झापा गाउँपालिकामा निमार्ण गरिएका २ सय ३८ वटा आवास आज सोमबार एक कार्यक्रमकाबिच उपभोक्ता समिति मार्फत घरधनीलाई हस्तानतरण गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि ह्याविट्याट फर ह्यूम्यानिटी नेपालको केन्द्रिय निर्देशक एलिजा स्थापित , सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, गाउंपालिकाका अध्यक्ष जयनारायण शाह, राष्ट्रिय भूमि आयोग झापाका अध्यक्ष तिलक सिंह पाण्डे लगायतले पालिकाको ७ वटै वडामा निमार्ण गरिएका घरको सांचो तथा निमार्ण सम्पन्नताको प्रमाणपत्र संयुक्त रुपमा वितरण गरेका हुन् ।
‘विपन्न वर्ग परिवारलाई लक्षित गरी सुरक्षित, बलियो घर निर्माण गरिएको हो’ कार्यक्रमलाई सम्बोधन गर्दै सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले भने , सुरक्षित आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका अतिविपन्न, गरिब, घरविहीन, सुकुम्बासी, पिछाडिएका वर्ग, प्रकोप प्रभावित, महिला र फरक क्षमता भएका व्यक्ति तथा समुदायलाई लक्षित गरी आवास निर्माण गरिँदै आएको छ । ’
बिगत लामो समय देखि यस झापा गाँउपालिकामा ह्याविटाट फर ह्यूमानिटी नेपाल, सहारा नेपाल तथा झापा गाँउपालिकाबिच त्रिपक्षिय साझेदारिमा सुरक्षित आवास कार्यक्रम संचालन हुँदै आईरहेको गाउंपालिका अध्यक्ष जयनारायण शाहले बताए ।
पालिकाले पनि आवास कार्यक्रम गरिरहेको बताउंदै यस्ता दातृनिकायको सहयोगले पालिकालाई ठुलो राहात मिलेको उनले बताए ।
ग्रामिणभेगमा बस्दै आएका अत्यन्तै न्यून आय भएका नागरिक, जसको घरको अवस्था बस्न लायक छैन, त्यस्ता व्यक्तिहरु छनौट गरी उनीहरुको लागि स्थानीय तह र सहारा नेपालको साझेदारीमा यो कार्यक्रम लागु गरिंदै आएको ह्याविट्याट फर ह्यूम्यानिटी नेपालको केन्द्रिय निर्देशक एलिजा स्थापितले बताइन । उनले सहारा नेपाल विपन्न तथा गरिबको रेखामुनी रहेको समुदायसंग प्रत्यक्ष जोडिएकाले गर्दा पनि सहारासंग सहकार्य गरेको बताइन् ।
सन् २००७ देखि ह्याविट्याट नेपाल र सहारा नेपालले साझेदारीमा काम गर्दै आएको सहारा नेपालका लेखा अधिकृत राजु गिरीले बताए । उनले कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुरमा साझेदारीमा परियोजनाले आवास निर्माण सहित अन्य काम गर्दै गरेको जानकारी दिए ।
२०१९ देखि हालसम्म झापा गाउँपालिकामा ८ सय ४१ वटा घर निर्माण भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत गजेन्द्र थपलियाले बताए ।
उनका अनुसार आर्थिक बर्ष ०७७ ÷ ७८ मा बनेका १ सय १३ घरमध्ये प्रति घरको कुल लागत २ लाख २८ हजार ९९ रुपैंया खर्च भएको छ । जसमा प्राविधिक र सामाजिक परिचालन सहयोग ह्याविटाट फर ह्युमानिटि नेपाल र सहारा नेपाल बाट प्रति घरकालागि ५० हजार रकम उपलब्ध गराएको थियो ।
त्यस्तै आ.व. ०७८÷ ७९ मा बनेका १ सय २५ घर मध्ये प्रति घर कुल लागत रु २ लाख ४५ हजार २ सय ८८ खर्च भएको छ । जसमा ह्याबिट्याट नेपाल र सहारा नेपाल बाट प्रति घर रु ८० हजार उपलब्ध भएको छ ।
कार्यक्रममा पालिकाले विपन्नको आवास निर्माण तथा पालिकाको समग्र विकासको लागि सहयोग पुर्याएको भन्दै ह्याविटाट फर ह्यूमानिटी नेपाल, सहारा नेपाललाई पालिकाले प्रशंसा पत्र समेत प्रदान गरेको कार्यक्रम संयोजक मात्रिका सुवेदीले बताए ।
पालिका उपाध्यक्ष अन्जु थपलियाले स्वागत गरेको कार्यक्रमको सञ्चालन पालिकाका कर्मचारी उदय मैनालीले गरेका थिए ।
जीविकोपार्जनका लागि अर्काको खेतबारीमा ज्याला मजदुर गर्दै आएका स्थानीय बस्नका लागि सुरक्षित घर पाएपछि दंग परेका छन् ।
प्रकाशित मिति: २०२३-०५-०८ , समय : २१:१७:४८ , २ वर्ष अगाडि