कनकाई नगरपालिका क्षेत्र भित्र गुट्खा, खैनी र चुरोटहरुमा विक्री तथा वितरणमा निषेध

झापा एक्सप्रेस , ५५९२२  पटक हेरिएको

सुरुङ्गा- झापाको कनकाई नगरपालिकाले नगर क्षेत्र भित्र गुट्खा, खैनी र चुरोट लगायतका सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने भएको छ ।

जेष्ठ १७ गते सम्पन्न २५ औं कार्यपालिकाको निर्णय कार्यान्वयन गर्दै कनकाई नगरपालिकाले यहि श्रावण १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने भएको हो ।

कनकाई नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको नगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले बताउनु भयो।

चुरोट, गुट्खा, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले नगरपालिका कठोर रुपमा उत्रिएको प्रशासकीय अधिकृत विवेक भण्डारीले बताउनुभयो ।
सुर्तीजन्य पदार्थको खोलले नगरपालिकाको सरसफाईमा ठूलो चुनौती सिर्जना गरेको समेत भण्डारीको भनाइ छ ।

कनकाई नगरवासीका रहेका सम्पूर्ण राजनैतिक दलको समेत केही महिना अगाडी छलफल कार्यक्रममा स्वास्थ्य र सरसफाई प्रति चिन्तित हुँदै सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्न साथ रहने भनी हस्ताक्षर गरिएको र उक्त हस्ताक्षरलाई नगरपालिकामा सबैले देख्न सक्ने स्थान राखिएको नगर प्रमुखका स्वकीय सचिव विजय पाठकले जानकारी दिनुभयो ।

मेयर राजेन्द्र कुमार पोखरेलले कनकाई नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा साथ दिन नगरवासीलाई आग्रह गर्नुभएको छ । साथै सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरण माथि गरिएको निषेधको निर्णयलाई कार्यान्वयन गर्न नगरवासीलाई पोखरेलको आग्रह छ ।

प्रकाशित मिति: २०२३-०६-०८ , समय : २०:१५:०३ , २ वर्ष अगाडि

error: Content is protected !!