झारो टार्दै बन्द कोठामा सकियो गौरादहको सार्वजनिक सुनुवाई कार्यक्रम

झापा एक्सप्रेस , ३६८८३  पटक हेरिएको

सुमित भण्डारी
गौरादह । झापाको गौरादह नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम झारो टार्दै सम्पन्न भएको छ । आइतबार बिहान गौरादह १ मा रहेको पन्चेश्वर शिवालय मन्दिरको सभाहलमा सानो घेरामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम जनप्रतिनिधि , कर्मचारी र पत्रकार सहित करिब ५० जनाको उपस्थितिमा सम्पन्न भएको हो ।

सार्वजनिक निकाय र नागरिकहरुका बीचमा दोहोरो सम्वाद स्थापित गर्न र त्यस्तो सम्वादबाट जनतालाई स्थानीय तहको विकासको प्रक्रियामा रचनात्मक प्रतिनिधित्व गराई पारदर्शिताको माध्यमद्वारा समग्र स्थानीय तहको विकास निर्माण कार्य र सेवाप्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाई जिम्मेवारीको संस्कार बसाउन सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिन्छ । तर, प्रक्रिया पुर्याउनकै लागि मात्र जस्तो देखिने गरि गौरादहले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । अधिकांश नागरिकहरुले आफुहरुलाइ जानकारी नभएर उपस्थित नभएको बताएका छन ।

कतिपय पालिकाहरुले सार्वजनिक सुनुवाई कार्यविधि निर्माण गरेपनि गौरादह नगरमा सो कार्यविधि छैन ।

प्रदेश सार्वजनिक सुनुवाई सम्बन्धि कार्यविधि २०७७ का अनुसार ‘सार्वजनिक सुनुवाई हुने दिन भन्दा पन्ध्र दिन अगावै नागरिक प्रतिवेदन र बहिर्गमित अभिमतको माध्यम प्रयोग गरी सूचना संकलन गर्नुपर्नेछ’ भन्ने उल्लेख छ ।
उक्त कार्यविधिमा कम्तीमा ५० जना सेवाग्राही नागरिकबाट अनुसूची–२ बमोजिमको नागरिक प्रतिवेदन फाराम भर्न लगाई सूचना संकलन गर्नु पर्ने, नागरिक प्रतिवेदनमा मधेसी, जनजाति, बालबालिका, महिला एवम् पिछडिएको वर्गको समेत अनिवार्य प्रतिनिधित्व हुनुपर्ने भएपनि गौरादहको कार्यक्रममा यी कार्यविधि पालना भएको पाइएन ।

कार्यक्रममा गौरादह नगरपालिकाका जनप्रतिनिधि ,कर्मचारी र पत्रकार बाहेक करिब १५ जना नगरबासिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी र सहभागी गरि करिब ५० जनाको सहभागिता रहेको थियो । पुर्व न्युज मिडिया प्रा लि ले कार्यक्रमलाई सहजीकरण गरेको थियो ।

एक आर्थिक बर्षमा ४ फरक स्थानमा सार्वजनिक सुनुवाई गर्नुपर्ने भएपनि चालु आवमा गौरादहमा एउटामात्र कार्यक्रम भएको छ ।

कार्यालयको सेवा प्रवाहमा चित्त नबुझेमा गुनासो सुन्ने अधिकारीको फोटोसहित नाम र सम्पर्क नम्बर राख्ने व्यवस्था भएपनि गौरादह नगरपालिकामा भने त्यस्तो केहि उल्लेख छैन ।

प्रकाशित मिति: २०२३-०६-१८ , समय : १९:३४:११ , २ वर्ष अगाडि

error: Content is protected !!