झापाका किसानले पाए अनुदानमा सिचाई मोटर (भिडियो सहित)

झापा एक्सप्रेस , ४१०३६  पटक हेरिएको

झापा – झापा गाउँपालिकाले कृषि उत्पादन बढाउँदै कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिँचाइका लागि विद्युत मोटर प्रदान गरेको छ ।

गाउँपालिकामा बसोवास गर्ने ९० प्रतिशत नागरिक कृषिमा आत्मनिर्भर रहेकाले उनीहरुलाई आत्मनिर्भर बनाउन गाउँपालिकाको २५ प्रतिशत र सहारा नेपालको २५ प्रतिशत अनुदानमा कृषकलाई विद्युत मोटर प्रदान गरेको हो ।

बिहिबार एक कार्यक्रमको आयोजना गरी ८६ जना कृषकलाई २/३ हर्ज पावरको विद्युत मोटर उपलब्ध गराएको हो । यो सँगै चालु आर्थिक वर्षमा गाउँपालिकाले १७६ थान सिचाई मोटर वितरण गरेको कृषी शाखा प्रमुख जगतनारायण मण्डलले बताउनु भयो । मोटरको मूल्य प्रतिमोटर २३ हजार रुपैयाँ पर्ने बताइन्छ । जसमा ५० प्रतिशत रकम कृषकले व्यहोर्ने गरी सामान खरिद गरिएको र किसानलाई वितरण गरिएको मण्डलले बताउनु भयो ।

गाउँपालिकाको २०७९/०८० को गाउँसभाबाट कृषिलाई प्राथमिकता दिँदै बजेट ल्याएको अध्यक्ष जयनारायण साहले बताउनु भयो ।यहाँका अधिकतम किसानलाई लाभ होस् भनेर विभिन्न कार्यक्रम ल्याएको उहाँको भनाई छ । विद्युत मोटर वितरण गरिएका कृषकलाई विद्युत महशुलमा समेत गाउँपालिकाले सहुलियत दिएको छ । गाउँपालिका अध्यक्ष जयनारायण शाहले भने– ‘हामीले खेत–खेतमा पोल र खेतखेतमै विद्युत मिटर उपलब्ध गराएका छौं, अब यहाँका किसानले पानी नभएर खेती गर्नबाट वञ्चित हुनुपर्ने अवस्था छैन । आफूलाई चाहिए जति सिँचाइ गर्न सक्छन् ।’ उनले भने– ‘विद्युत महशुलको आधार रकम गाउँपालिकाले तिरिदिन्छ ।’
एक पटक सहयोग पाएका किसानले आफूले पाएका सामग्री दुरुपयोग गरे आगामी अनुदानका कार्यक्रमबाट वञ्चित गराइने अध्यक्ष साहको भनाई छ ।

कृषि उत्पादनमा बढावा दिन कृषकलाई धान, मकै, तरकारी लगायतका बीऊमा समेत अनुदान प्रदान गरिँदै आएको र यो कार्यलाई निरन्तरता दिने अध्यक्ष साह बताउँछन् । झापा गाउँपालिकामा एक सय ३४ वटा व्यवसायिक कृषि फार्म सञ्चालनमा छन् भने ८० वटा पशु फार्म सञ्चालनमा छन् । सामान्यदेखि सामान्य कृषकलाई समेत गाउँपालिकाले अघि सारेको कार्यक्रममा सहभागी गराउँदै सहयोग पुर्याउँदै अघि बढेको अध्यक्ष साहको भनाइ छ ।

गाउँपालिकाले मकैखेतीका लागि समेत किसानलाई २० लाख रुपैयाँ बराबरको बीऊमा अनुदान गरेको छ । कृषकलाई उत्पादनमा जोड्दै स्वावलम्वी बनाउन सहयोग पुर्याउने उद्देश्यले कृषि क्षेत्रमा नयाँ–नयाँ कार्यक्रम भित्र्याइएको बताइन्छ । हाल गाउँपालिकाले किसान परिचयपत्रको अवधारणा अघि सारेको छ भने घरधुरी कार्ड मार्फत मात्रै अनुदानका प्याकेजहरु किसानलाई उपलब्ध गराउँदै आएको छ ।

डिल्लीराज माध्यमिक विद्यालयको प्राङ्गणमा बिहीबार कृषकका लागि मोटर वितरण गरिएको थियो । मोटरसहितका सामग्री वितरण गरिएसँगै त्यसक्षेत्रका कृषक उत्साहित देखिएका थिए ।

सहारा नेपालका अध्यक्ष हरी राजबंशीको प्रमुख आतिथ्यतामा भएको मोटर बितरण कार्यक्रममा झापा गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष राजकुमार यादव, सहारा नेपालका बरिष्ठ उपाध्यक्ष हरी निरौला लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कृषि शाखाकी कर्मचारी रीता वर्देवाले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष अन्जुदेवी थपलियाले गर्नु भएको थियो

प्रकाशित मिति: २०२३-०६-२३ , समय : ०९:०४:२७ , २ वर्ष अगाडि

error: Content is protected !!