कैलालीका पैदलयात्री झापामा

झापा एक्सप्रेस , १६१६९  पटक हेरिएको

टिकाराम बास्तोला
सुदुर पश्चिमका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै देशभर पैदल यात्रामा निस्किएका कैलाली , गौरीगँगा नगरपालिका- ४ खुरखुरियाका देवराज पाध्याय आज झापा आईपुग्नुभएको छ । ३८ वर्षिय पाध्याय पैदल खुट्टाले नेपाल घुम्ने लक्ष्यका साथ यात्रा सुरु गरेको १ सय २६ दिनमा झापा आईपुग्नुभएको हो ।

पैदल हिनेर आफ्नो देश कस्तो छ भन्ने थाहा पाउन पैदल हिनेको बताउने पाध्यायले यात्रासँगै सुदुरपश्चिमको पर्यटकीय क्षेत्रहरुको पनि प्रचार प्रसार गर्दै आउनुभएको छ । सुदुरपश्चिमको खप्तड र शुक्लाफाँटा राष्ट्रिय निकुन्ज ,गोदावरी र वडिमालिका धाम ,अपी र शैपाल जस्ता हिमालको प्रचार प्रसार गर्दै यात्रामा निस्किएको पाध्याय बताउनुहुन्छ।

गतवर्ष २८ दिनमा मेची महाकाली पैदल काँधमा हलोजुवा वोकेर यात्रा गर्नुभएको पाध्यायको त्यस यात्राको उद्येश्य नेताहरु सच्चिए मात्रै देश विकास सम्भव छ भन्ने थियो । यसपटक देशको बारेमा जानकारी लिन यात्रामा निस्किएका पाध्यायको झापा ५२ जिल्ला प्रवेश हो ।

यस पटक झापाहुदै मोरङ तर्फ लाग्नुभएको छ । ४० हजार ऋण र साथमा आफ्नो १० हजार गरी ५० हजार बोकेर पैदल यात्रामा निस्किएका पाध्यायको घरमा आमा कलधरी पाध्याय,श्रीमति र दुई छोरा हुनुहुन्छ ।

पाध्यायले पछिल्लो पटक काठमाडौं पुगेपछी त्यहाँबाट भने ग्रेटर नेपालको नक्सा पनि बोक्नुभएको छ । देशको विगतको नक्सा यस्तो रहेछ भन्ने पनि जानकारी दिन नक्सा बोकेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०७-१९ , समय : ०८:३९:०० , १ वर्ष अगाडि

error: Content is protected !!