धनीपुर्जा माग्दै कनकाई नगरपालिकाको टोली प्रधानमन्त्री प्रचण्डको कार्यालयमा

झापा एक्सप्रेस , ४९६८६  पटक हेरिएको

काठमाडौं ।झापाको कनकाई नगरपालिकाका जनताले हाल भोगिरहेको धनीपुर्जाको समस्या आफुले पनि भोगिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । बुधवार (आज) कनकाई नगरपालिका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल सहितको टोलीले दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले कनकाई नगरपालिकाका स्थानीयले भोगिरहेको समस्या देशका सबैजसो भुभागमा भोगिने गरेको तर समस्याको उजगार भने कनकाई नगरपालिकाले गरेको भन्दै कनकाई नगरपालिकाको टोलीलाई धन्यावाद समेत दिएका कनकाई नगरपालिका प्रतिनिधि मण्डलका सहभागी वडा नम्बर ४ का वडाध्यक्ष रोषन सुवेदीले बताए।

विविध कानुनी जटिलताका कारण बर्षौदेखि बसोबास गरिरहेका स्थानीयले जग्गाको धनीपुर्जा नपाएको भन्दै झापा कनकाई नगरपालिकाका नगरप्रमुख सहितको टोली अहिले प्रधानमन्त्री कार्यालयमा पुगेको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी सहितको वडाध्यक्ष, र स्थानीय राजनैतिक दलका प्रतिनिधि सहितको टोलीले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै आफ्ना समस्या राखेको छ ।

कनकाई नगरपालिकामा मात्रै ७ हजार ५०० भन्दा वढीलाई सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको जग्गाको धनीपुर्जा बितरणका लागि तयारी अवस्थामा रहेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । तर कानुनी जटिलताका कारण तथा अव्यवस्थित बसोबासीका नागरिकका लागि जमिनको धनीपुर्जा लिनका लागि चर्को शुल्क तोकिएपछि बर्षौदेखि आफुले कमाउँदै आएको जमिनका लागि चर्को शुल्क तोकिएको भन्दै शुल्क घटाउन माग गर्दै नगरप्रमुखको टोली एक सातादेखि काठमाण्डौंमा डेलिकेशनका लागि आएको हो ।

नगरपालिकाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कनकाईको जस्तो भुमिको समस्या देशका अन्य भागमा समेत भोगिरहेको भन्दै आफु समेत यहि समस्याबाट प्रताडित बनिसकेकाका कारण तत्कालै समस्याको समाधान हुनेमा ढुक्क हुन आग्रह गरेको नगप्रमुख पोखरेलले बताए। मन्त्रीमण्डलबाट समाधान हुने कुरा मन्त्री मण्डलबाट र त्यहाँबाट सम्भव नहुने कतिपय ऐन कानुनहरु परिमार्जन गरेरै सबै नागरिकलाई आधार र प्रमाणका आधारमा जग्गाको धनीपुर्जा प्रदान गरिने प्रधानमन्त्रीले बताएको नगरप्रमुख पोखरेलले जानकारी दिए ।

त्यसैगरि प्रतिनिधिमण्डले सरकारका भुमि व्यावस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ र सभामुख देवराज घिमिरेलाई समेत ज्ञापन पत्र बुझाएको छ । भुमि मन्त्रीले समेत कनकाई नगरपालिकाको मात्रै नभएर यो देशभित्रकै समस्या भएको भन्दै चाँडै समस्या समाधान गर्न आफुहरु लागिपर्ने प्रतिवद्धता जनाएको कनकाई नगरपालिका ४ का वडाध्यक्ष रोषन सुवेदीले बताए।

कनकाई नगरपालिका क्षेत्रमा हालसम्म ७ हजार ५०० जनाको धनीपुर्जाका लागि नापजाँच र फर्म भरेर पुर्जाका लागि तयारी अवस्थामा रहेको भएपनि हालसम्म १०० मात्रै पुर्जा बितरण गर्न सकेको नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले बताइन् । नगरको समस्यालाई सरकार समक्ष राखिसकेकोले आफुहरु समाधान हुनेमा विश्वस्त रहेको आशा शर्मा शिवाकोटीले बताइन्।

प्रधानमन्त्रीलाई कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, नेपाली कांग्रेसका कनकाई नगर सभापति दुर्गा प्रसाई, एमालेका कनकाई नगर अध्यक्ष खडग प्रसाई, माओवादीका कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, राप्रपाका ख्याम कार्की, नेकपा एसका कनकाई नगर अध्यक्ष प्रतिक राजवंशी, कनकाई नगरपालिका ४ का वडाध्यक्ष रोषन सुवेदी, ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, समाजसेवी ओम पाठक, कनकाई नगरपालिका १ की वडासदस्य निर्मला खडका, ४ का वडा सदस्य मोहन संग्रौला लगायातको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०८-१६ , समय : १७:३६:२० , १ वर्ष अगाडि

error: Content is protected !!