कोटीहोम निर्वाचन-साझा प्यानलका उम्मेदवारद्वारा २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

झापा एक्सप्रेस , २४९७९  पटक हेरिएको

झापा- धार्मिक तथा पर्यटकीय क्षेत्र “ कनकाई धाम धार्मिक विकास संस्था कोटीहोमको आगामी हुने निर्वाचनका लागि साझा प्यानलका उम्मेदवारहरुले २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

यहि असोज १५ गते हुने निर्वाचनका लागि साझा प्यानलका अध्यक्ष पदका उम्मेदवार नरेन्द्रप्रसाद फुयाँल सहितको प्यानलले आज सुक्रबार सुरुङ्गामा पत्रकार सम्मेलन गर्दै आफ्ना २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

नेकपा एमाले कनकाई नगर अध्यक्ष तथा निर्वाचन प्रचार प्रसार समिति संयोजक खड्गप्रसाद प्रसाईँको अध्यक्षतामा प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो ।

साझा प्यानलका उम्मेदवारहरुले यस कार्यकालमा सुविधा सम्पन्न सन्त आश्रम निर्माण गरिने देखी लिएर कनकाई घाटसँग आवश्यक समन्वय सहमती र समन्वय गरी विविध कार्यक्रमहरु सन्चालन गरिने सम्मका प्रतिवद्वता गरेका छन् ।

साझा उम्मेदवारका २० बुँदे प्रतिबद्धता

१.यस कार्यकालमा सुविधा सम्पन्न सन्त आश्रम निर्माण गरिने ।
२. यस कार्यकालमा सबै धार्मिक संघसंस्था तथा बौद्धिक व्यक्तित्वहरू सँगको समन्वय र सहकार्य गरी धार्मिक यज्ञको आयोजना गरी संस्थाको अक्षयकोषलाई बलियो बनाई ने छ ।
३. धार्मिक पाहुनाहरूको आवासका लागि व्यवस्थित आवास गृह निर्माण गरिने छ ।
४. पूर्वाञ्चलमा नै वृहत धार्मिक सभा सम्मेलन जस्ता कार्यक्रमहरू सञ्चालन हेतु एउटै छाना मुनी हजार भन्दा बढी सहभागी अटाउने सभाकक्ष निर्माणका लागि पहल गरिनेछ साथै पर्यटन विकास र विस्तारका लागि सरोकारवालाहरूसँग आवश्यक समन्वय गरिने छ ।
५. गुरुकुल शिक्षालाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक व्यवस्थापन गरिने छ ।
६. कोटिहोम परिसर भित्र रहेको मूल मन्दिरको पुनः निर्माणका लागि सरोकारवाला निकायसँग विशेष पहल गरिनेछ ।
७.सनातन धर्मावलम्बी ॐ कार परिवारहरूको प्रतिनिधित्व हुने गरी परिसर भित्र उपयुक्त स्थानको चयन गरी सङ्ग्रहालयको स्थापना गरिने छ ।
८. पवित्र धार्मिक स्थल क्षेत्रमा व्यवस्थित गौ पालन गरी गौमाताको पवित्र सेवा र व्यावसायिकता प्रदान गरिने छ ।
९. संस्थाको लेखा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाई आर्थिक पारदर्शितालाई मासिक बैठकमा अनुमोदनका लागि पेश गरिने छ ।
१०. निकट भविष्यमा कोटिहोम परिसर भित्रका साधु सन्त र दीनदुःखीहरूका निम्ति निःशुल्क भोजन व्यवस्थापनका लागि दैनिक भोजनालयको व्यवस्था गरिनेछ ।
११. सनातन धर्म अनुसार मनाइने हरेक धार्मिक चाडपर्वहरूलाई विशेष महत्वका साथ मनाउनका लागि आवश्यक व्यवस्था गरिने
१२. सनातन धर्मको चौतर्फी रूपमा जागरण हेतु समय समयमा सन्त सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।
१३. कोटीहोम परिसर भित्र रहेका थर गोत्रीय बन्धु संस्थाहरूसंग समन्वय गरी उपयुक्त रुपमा व्यवस्थापन गरिने छ ।
१४. सरसफाइ तथा स्वच्छ वातावरणका लागि आवश्यक पहल गरिनेछ ।
१५. कनकाई सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरी सामुदायिक वनको नीति भित्र रही विभिन्न बिरुवाहरूको वृक्षरोपणमा समेत जोड दिइने छ ।
१६. कोटिहोम परिसर भित्र रहेको निर्माणाधीन मेची–महाकाली वृद्धाश्रम नेपाललाई पूर्णता दिन प्रयत्न गरिने छ ।
१७.कनकाईधाम धार्मिक विकास संस्था पूर्वाञ्चलको एक मात्र धार्मिक पर्यटकिय स्थल भएकोले यसको स्तरोन्नतिका लागि स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार तथा अन्य संघ संस्थासँग आर्थिक व्यवस्थापनका लागि समन्वय र सहकार्य गरिने छ ।
१८. आवश्यकता अनुसार यस संस्थाको बृहत्तर विकासका लागि धार्मिक तथा बौद्धिक व्यक्तित्वहरूसँग आवश्यक परामर्श लिइने छ ।
१९. यस धार्मिक संस्थालाई धार्मिक सम्पदा सूचीमा सूचिकृत गर्न प्रयत्न गरिने छ।
२०. कनकाई घाटसँग आवश्यक सहमति र समन्वय गरी विविध कार्यक्रमहरू सञ्चालन गरिने छ ।

यता स्वतन्त्र प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार शेरबहादुर थापा नेतृत्वको समूह चुनावी मैदानमा रहेको छ । साझा प्यानल र स्वतन्त्र समुहबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । बिभिन्न राजनीतिक दलको साझा प्यानलको तर्फबाट नरेन्द्रप्रसाद फुयाँलको समुह र स्वतन्त्र प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेद्वार शेरबहादुर थापा नेतृत्वको समुहबिच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

प्रकाशित मिति: २०२३-०९-२९ , समय : २१:०९:३६ , १ वर्ष अगाडि

error: Content is protected !!