कोसीका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत

झापा एक्सप्रेस , ४७६६८  पटक हेरिएको

विराटनगर । कोसीका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र ५ विपक्षमा मत परेको हो। राप्रपाका एकजना सांसद अनुपस्थित रहे।

मत दिन्न भन्ने पक्षमा शून्य मत प्राप्त भएको छ। उपसभामुख सृजना दनुवारले मुख्यमन्त्री कार्कीले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेकी हुन्। गठबन्धनबाट विद्रोह गरेका शेखर कोइराला पक्षका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्री कार्कीलाई नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने तटस्थ बस्यो।

कोसी प्रदेशसभामा एमालेका ४०,कांग्रेसका २९,नेकपा माओवादी केन्द्रका १२,राष्ट्रिय प्रजातन्त्र पार्टीका ६,नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।

कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन्। मुख्यमन्त्री कार्कीले एमालेका रामबहादुर राना र कांग्रेसका शम्शेर राईलाई मन्त्रीसमेत नियुक्त गरेका छन्। कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रकाशित मिति: २०२३-१०-१८ , समय : १८:४२:४४ , १ वर्ष अगाडि

error: Content is protected !!