झापा एक्सप्रेस , १५८०५३ पटक हेरिएको
झापा।झापाको झापा गाउँपालिका-४ मा रहेको डिल्लीराज माविमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले छानबिनका लागि झापा गाउँपालिकालाई पत्राचार गरेको छ।
विशेष स्रोतका अनुसार राय सहितको छानबिन प्रतिबेदन पठाइदिन अख्तियार दुरुपयोग अनुसन्धानले झापा गाउँपालिकालाई अनुरोध गरेको हो।आयोगले यस कार्यालयमा भएको उजुरीका आधारमा छानबिनको शिलशिलामा पत्र लेखेको जनाउदै झापा -४ स्थित डिल्लिराज माध्यमिक विद्यालयका प्र.अ समेतको मिलेमतोमा विद्यार्थीहरु अनुपस्थित भएतापनी दैनीक हाजिर खातामा हाजिर गरी रकम भुक्तानी लिइरहेको भन्ने समेतको सम्बन्धमा के कसो भएको भए गरेको हो? उक्त उल्लेखित विषयहरुको सम्बन्धमा अधिकृत स्तरसहितको कर्मचारीबाट स्थलगतरुपमा छानबिन गरि अनिवार्यरुपमा राय प्रतिक्रिया सहितको प्रतिवेदन लगायतका प्रमाणित कागजातहरु समेत १५ दिन भित्र अनिवार्य उपलब्ध गराइदिन गाउँपालिकालाई मंशीर २४ को निर्णयानुसार अनुरोध गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदकले डिल्लिराज माविका विषयमा १६ बुँदे उजुरी हालेका छन् ।जसमा २०७६/०७७ पछि विरेन्द्रप्रसाद गुप्ता प्रधानध्यापक भएपछी कयौं कुराहरुमा अनियमितता भएको उल्लेख गरेका छन् ।
बालबिकास शिक्षकका रुपमा सो विद्यालयमै कार्यरत प्रअ गुप्ताकी पत्नी ज्योती कुमारी गुप्ता विद्यालयमा अनुपस्थित भएको दिनमा पनि स्वयम् प्रधानाध्यापकले किर्ते हस्ताक्षर गरि हाजिरी गरेर पदिय दुरुपयोग गरेको ,बजार मूल्य भन्दा बढी मुल्यको बिल भौचर तयारपारी विद्यालयमा विद्यार्थी तथा शिक्षक कर्मचारीका लागि भनी खरिद गरिएका कमसल स्तरका डेक्स,बेन्च,पंखा,पोडियम,इन्टरएक्टिभ बोर्ड,प्रोजेक्टर,स्मार्टबोर्ड,सिसिटिभी क्यामेरा,टेबल,कार्पेट,सोफा,सेनिटाइजर,फिल्टर,ट्वाइलेटका सामानमा अनावश्यकरुपमा भ्रस्टचार गरेको लगायतका १६ बुँदे उजुरी दायर गरिएको छ।प्रधानाध्यापक गुप्ताले विद्यालयका प्राय सबै गतिविधि ,प्रासनिक काममा अनियमितता गरेको आरोप उजुरीमा उल्लेख छ।
यता यस विषयमा विद्यालयका प्रधानाध्यापक विरेन्द्रप्रसाद गुप्ताले अख्तियारमा गरिएको उजुरीका विषयमा अब गरिने छानबिनमा पुर्ण सहयोग गर्ने बताए।उनले आफु माथी लगाइएको आरोप निराधार रहेको भन्दै छानबिन समितिलाई पुर्ण सहयोग गर्ने बताएका हुन।
प्रकाशित मिति: २०२३-१२-१६ , समय : १८:०१:५४ , १२ महिना अगाडि