झापा एक्सप्रेस , १०४१५१ पटक हेरिएको
लक्ष्मण राही
खानेकुरा मानिसको शरीरलाई जीवन्त राख्ने आधारभुत तत्व हो । यो जन्म देखि मृत्युसम्म खानाको रुपमा दैनिक आवश्यक हुन्छ । बच्चाको खानाको विषयमा कुरा गर्दा उनीहरुको लागि खानेकुरा के के हुनु पर्छ भन्ने खाना खुवाउने अभिभावकलाई थाहा हुनु पर्छ ।
जन्मे देखि ६ महिनासम्म आमाको दुध मात्र दिनु पर्छ । पानी पनि दिनु हुदैन किनकी आमाकै दुधबाट पानी प्राप्त हुन्छ । ६ महिनादेखि ९ महिनासम्म १२५ मि.लि.(२५ चम्चा ) दिनको ३ पटक लेदो खानेकुरा दिनु पर्छ । लेदो अबस्थाको खानेकुरा भन्नाले शक्ति दिने ,वृद्धि गर्ने र रोगबाट बचाउने यी तीन प्रकारका खाना पकाएको हुनु पर्छ । ९ महिनादेखि १२ महिनासम्म २५० मि.लि.(५० चम्चा) दिनको ३ पटक र थप १ पटक खाजाको रुपमा दिनु पर्छ ।त्यसैगरी १२ महिनादेखि २४ महिनासम्म २५० मि.लि.(५० चम्चा ) दिनको ३ पटक र थप २ पटक खाजाको रुपमा खाना खुवाउनु पर्छ । यसरी आफ्नो बच्चालाई खाना खुवाउन आमा र बुबाको क्षमता हुनु जरुरी छ ।
यो तरिकाले खुवाइएमा बच्चाको दिमाग जीवन भरीको विकास मध्ये ८० % विकास २४ महिना भित्र नै भइ सक्छ । मस्तिष्कको विकास हुने एक मात्र प्रभावकारी उपाय यहि हो । बाकि उपायले २० % मात्र विकास हुन्छ , त्यसैले २४ महिनासम्मको उमेरलाई स्वर्ण उमेर भनिन्छ ।
मस्तिष्कको भित्रि भागमा ह्वाइट मेटर र माथिल्लो बाहिरी भागमा ग्रे मेटर हुन्छ । ग्रे मेटर जति जति बाक्लो त्यति त्यति नै मस्तिष्कको बौद्धिक क्षमता राम्रो हुन्छ । मस्तिष्कलाई मानव शरीर विज्ञानको आधारमा दुइ भागमा दायाँ र बायाँ गरेर अध्ययन गर्न सकिन्छ । दायाँ भागले भावनात्मक वा संवेगात्मक रुपमा ५ % कार्य गर्दछ भने बायाँ भागले तर्क वितर्कको निर्णयहरु गर्ने ९५ % कार्य गर्दछ । यो क्षमतासम्म पुर्याउने जिम्मेबारी माथि भनिएको तरिका नै हो । मस्तिष्कको विकास गराउने मुख्य आधार स्तनपान र थप पुरक खाना नै हो ।
मस्तिष्कको क्षमता सिमित हुदैन । त्यसलाई हाम्रो इन्द्रियहरुले सिमित गरेको हुन्छ । सक्षम इन्द्रियको मदतले मस्तिष्कले राम्रो कार्य गर्न पाउँछ । प्रकृतिले हरेक जीवमा इन्द्रियहरुको क्षमता फरक फरक दिएको छ । मानिसको जिब्रोले पाउने स्वाद मात्र ६ किसिमका छन् । गुलियो , अमिलो , नुनिलो , पिरो , तितो र टर्रो । कुनै जीवले यो बाहेक अरु फरक स्वादको अनुभव गर्न सक्छ जुन हामीले गर्न सक्दैनौं । त्यस्तै हाम्रो नाक भन्ने इन्द्रियले चार किसिमको गन्धहरु थाहा पाउँछ । सुगन्ध , दुर्गन्ध , उत्कट र अनुत्कट हुन् । तर कुकुरमा यो भन्दा फरक गन्ध सुँघ्ने क्षमता हुन्छ । त्यसैले कुकुरले सुक्ष्म गन्धलाई थाहा पाउन सक्छ जहाँ अनुसन्धानका लागि प्रयोग समेत गरिन्छ ।
मानिसको इन्द्रिय कुनै कारणले असक्षम हुन सक्छ । सक्षम बनाउन कुनै सहारा वा उपचार चाहिन्छ । त्यो सहारामै इन्द्रिय निर्भर हुदै जान्छ । कानको सुनाइ क्षमता बढाउन श्रवण यन्त्र प्रयोग गरिन्छ । आँखाको दृष्टि बढाउन चस्मा प्रयोग गरिन्छ । त्यस्तै मस्तिष्कको सोच्ने कार्यमा मदत गर्न ए.आइ. प्रबिधिको सहयोग हुने सम्भावनाहरु आउंदैछन् । अबको २५ वर्ष पछि अर्थात् सन् २०५० सम्ममा यो प्रविधि हाम्रो जीवनमा स्थापित हुने कुरा ए.आइ. प्रविधिमा कार्य गर्ने र अध्ययन गर्ने विज्ञहरुको भनाइ छ । यदि यसो भएमा मानव मस्तिष्क ए.आइ.मा निर्भर हुनेछ l यो परनिर्भरता भनेको मस्तिष्कको चेतनालाई चुनौती हुनेछ ।
पूर्वीय दर्शनहरु लगभग ९ वटा छन् । चार्वाक दर्शन बाहेक सबै दर्शनको मस्तिष्कको चेतन सम्बन्धि केहि न केहि एक मत जस्तो देखिन्छ । चार्वाक दर्शनले भने निर्जीव बस्तुबाट पनि चेतना निस्कन्छ भनेर अरु दर्शनहरुलाई चुनौती दिएको छ । यहि चार्वाक सिद्धान्तलाई आधार मानेर अहिलेको ए.आइ. प्रविधि (मानिसले सोचे जस्तै छिटो भन्दा छिटो सोच्ने प्रणाली ) को स्थापना गर्ने जमर्को गरेको देखिन्छ । जे जे प्रविधि आए पनि आफ्नो आँखाले देखे जस्तो चस्माको सहारा लिनु कस्ट नै हो । अरु साधन भन्दा आफ्नै कानले सुन्न सजिलो हो । त्यसै गरी ए.आइ. प्रविधिले सोच्नु भन्दा आफ्नै मस्तिष्कले सोच्नु कति सजिलो हुन्छ भन्ने कुरा त्यहि बेला थाहा पाउन सकिएला ।
मानिसको सोच्ने क्षमता मस्तिष्कमै निहित छ । यो क्षमतालाई दुइ वर्षको उमेरसम्म जंक फूड (पत्रु खाना ) र आमाको अप्रयाप्त स्तनपानले बिगारेको हुन्छ । जंक फूड संगसंगै बच्चाहरु झुठ बोल्न थाल्दछन् । अभिभावकले बच्चालाई जंक फूड नखाऊ भनि टर्चर दिंदा बच्चाले जोगिनका लागि झुठलाई सहारा लिन्छ । किनकी झुठ बोल्नु उनीहरुको लागि डिफेन्स हो भन्ने सम्झन्छन् । बच्चाले पहिलो पिटाइ जंक फूडको कारण खान्छन् । दोश्रो पिटाइ झुठ बोलेकोमा खान्छन् । यसरी पिटाईको संख्या बढ्दै जान्छ। डिफेन्सको लागि बच्चाले झुठलाई थप तरिकामा अगाडि बढाउँछन् जुन कुरा अभिभावकले पछि बानी धेरै नै बिग्रीसके पछि मात्र थाहा पाउँछन् । समयमा सुधार हुन् नसक्दा उनीहरु अपराधिसम्म हुन्छन् । त्यसैले घरमा पाकेको खानेकुरा ( दाल , भात , तरकारी , माछा मासु दहि दुध ) मा बानी पार्नु पर्छ । बच्चालाई खाना खुवाउदा अभिभावकले आफ्नै सक्रियतामा खुवाउनु पर्छ । मोबाइल देखाएर खुवाउदा बच्चाले मुखमा खानालाई खेलाउन सक्दैन । मोबाइलको सुरमा सरासरी निलेको हुन्छ । यो तरिकाले बच्चाले निलेको खानाको राम्रो पाचन हुदैन । त्यसैले मोबाइलको बानीबाट पनि नियन्त्रण हुन आवश्यक छ ।
विश्व स्वास्थ्य संगठनले गरेको माथिको निर्देशन बमोजिम जन्मेदेखि दुइ वर्षसम्म स्तनपान र थप पुरक खाना मात्रा र पटकमा बच्चालाई खुवाउन सकिएमा बच्चा भविष्यमा असल र दक्ष व्यक्ति बन्दछ ।
प्रकाशित मिति: २०२४-०१-२६ , समय : १८:५३:५७ , ११ महिना अगाडि