झापा एक्सप्रेस , ९१९३३ पटक हेरिएको
चन्द्र अर्थात शालीनता ,शितलता अनी शान्त .ग्रहहरुको यो उपमा पाएको चन्द्रमाले निकै गाम्भीर्यता बोकेको छ .झापाको झापा गाउँपालिका-३ का चन्द्र प्रसाद बस्नेतलाई चन्द्रमाको प्रर्याय भन्दा फरक नपर्ला . चन्द्र प्रसाद बस्नेतले गाउँकै जनता उच्च माविमा १२ कक्षासम्मको अध्यापन गराउँथे ।
बिजनेश स्टडीमा मास्टर्स डिग्री (स्नातकोत्तर) गरेका उनी पढाईअनुसारको रोजगारी नभएर भौँतारिइरहेका थिए । त्यही साल गाउँमा इजरायलमा रोजगारीको अवसर आयो । २०७५ सालमा उनी इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गए। चन्द्रले त्यहाँ केरा खेतीसम्बन्धी सैद्धान्तिक र प्राविधिक पक्ष सिक्ने अवसर पाए ।
करिब १ वर्षको सो कार्यक्रममा केही कमाएर र धेरै सिकेर आफू नेपाल फर्केको चन्द्र बताउँछन् ।
बि.सं. २०७६ मा नेपाल फर्किएका उनले नेपाल झर्नासाथ घर नै नगई पहिला कम्पनी दर्ता गराए । झण्डै २ लाख रुपैयाँ लगानी गरेर सुरु भयो एग्री सेन्टर झापा प्रा.लि नामको कम्पनी ।
सुरुमा २ लाख रुपैयाँ लगानीबाट सुरु भएको व्यवसायबाट राम्रो आम्दानी भएपछि लगानी थप्दै लगेको उनी बताउँछन् ।
सुरुमा १० कठ्ठा जमिनबाट केरा खेती सुरु गरेका बस्नेतले अहिले ३० बिगाहामा केरा खेती फैलाएका छन् भने २५ बिगाहा जमिनमा मकै खेती पनि गरिरहेका छन् । अबको केही महिनामै ५० बिगाहा जमिनमा व्यवसाय विस्तार गर्ने तयारी रहेको उनी बताउँछन् ।
पछिल्लो ५ वर्षको सङ्घर्षको मेहनत अहिले केराको बगैँचामा फैलिएको उनको भनाई छ । विदेश गएर कमाएर र सिकेको पैसाले नेपालमा नै प्रगति गर्न सकिन्छ भन्ने आफूले बुझेको चन्द्रप्रसादको अनुभव छ ।
चन्द्र हाल सम्म तिन वटा राष्ट्रिय पुरस्कारबाट सम्मानित भैसकेका छन् .उनी युथ एग्री अवार्ड २०७९ बाट नगद एक लाख सहित सम्मानित भएका थिए ।त्यस पछी २०८० सालमा नगद १ लाख रुपैंया सहित राष्ट्रिय युवा प्रतिभा सम्मान २०८० बाट सम्मानीत भएका थिए ।हालै मात्र उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार २०८१ बाट नगद एक लाख ५० हजार रुपैयाँ सहित सम्मानित भएका छन् ।
प्रकाशित मिति: २०२४-०७-०३ , समय : २०:१२:४० , ५ महिना अगाडि