भद्रपुरमा गरिएको एमसीसी मत सर्वेक्षणमा ९७ प्रतिशत ‘चाँहिदैन’मा

Jhapa Express , ८७४२  पटक हेरिएको

भद्रपुर । नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटी प्रचार विभागले शनिबार अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालमा चाहिने वा नचाहिने भन्ने सम्बन्धमा मत सर्वेक्षण गरेको छ ।

प्रचार विभागले शहिद सप्ताहको अवसर पारेर भद्रपुर ५ को वडा कार्यालय अगाडि एमसीसीबारे मत सर्वेक्षण गरेको हो । नगर अध्यक्ष शिवकुमार राजभण्डारीले मुलुकका लागि घातक एमसीसी परियोजना हाल संसद्मा प्रस्तुत भएकाले सोको विरुद्धमा जनमत संकलन गरिएको बताए ।

दिउँसा साढे एक बजेदेखि तीन बजेसम्म गरिएको मत सर्वेक्षणमा १५४ जनाले मत खसालेका थिए । जसमध्ये १४९ मत चाहिँदैन, ४ मत चाहिन्छ र १ मत खाली (तटस्थ) खसेको थियो । छोटो अवधिमा गरिएको मत सर्वेक्षणमा ९७ प्रतिशतको मत विपक्षमा देखिएको प्रचार विभागका राजु पाठकले बताए ।

मत सर्वेक्षणका क्रममा जनमानसमा एमसीसीविरुद्ध ठूलो आक्रोश देखिएको थियो । मत जाहेर गर्नेहरुले एमसीसीको आलोचना समेत गरेका थिए ।

प्रकाशित मिति: २०२२-०२-२७ , समय : ०९:२१:०९ , ३ वर्ष अगाडि