कस्तो थियो एक करोड वर्षअघिको नेपाल

मोहन मैनाली , १३९७३  पटक हेरिएको

त्यति बेला अहिलेको नेपाल र भारत श्रीलंकाबाट छुट्टिइसकेका थिए । तर, हिमाल आजका जति अग्ला भइसकेका थिएनन् । पहाड बनिसकेको थियो । त्यसैले नेपालबाट तिब्बत पुग्न उकालो–ओरालो बाटो त हिँड्नुपथ्र्याे तर अग्ला हिमालले अहिले जसरी बाटो छेकेका थिएनन् ।

अलि अघि एउटा अनौठो प्रवचनको निम्तो आइलाग्यो । त्यसको शीर्षक थियो– एक करोड वर्षअघिको नेपाल । प्रवचन दिने मानिस थिइन्– मानवशास्त्री नीना जी. याब्लोयन्स्की ।

यो त्यति बेलाको नेपाल (अहिले नेपाल भनी चिनिने ठाउँ) को कुरा हो जति बेला गंगाको मैदानभन्दा भिन्न बस्छु भनेर हिमाल अग्लिन थालेको एक करोड वर्ष मात्र भएको थियो । सत्य युगभन्दा सुरु हुनुभन्दा ६१ लाख वर्षपहिलेको कुरा हो । त्यतिबेला चुरे पहाड जन्मिएकै थिएन । मैदानसँगै मिलेर बसेको थियो । मैदानसँग छुट्टिने कुरा यसले सोचेको पनि थिएन होला । दाङ, चितवन, उदयपुरजस्ता भित्री मधेस जन्मिएकै थिएनन् । यो त्यति बेलाको कुरा हो जति बेला यस ठाउँलाई नेपाल भनिँदैनथ्यो ।

डा. जगमान गुरुङले ‘नेपाली संस्कृति र राष्ट्रियताको पृष्ठभूमि’ शीर्षकको लेखमा हिमवत्खण्ड पुराणलाई उद्धृत गर्दै भनेका छन्, ‘नेपाल सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन, द्वापरयुगमा मुक्तिसोपान र कलियुगमा नेपालिकापुरी नामबाट कहलाएको थियो ।’
त्यतिबेला नेपाल कस्तो थियो भन्ने नजान्दा मलाई घरव्यवहार र पेसा चलाउन कठिन हुने थिएन । आजभोलिका लागि ग्यास कहिले पाइएला भन्ने जस्तो नभई नहुने जानकारी थिएन त्यो । तर अधिकांश नेपालीजस्तै गरी म पनि जीवन धान्न नभई नहुने जानकारी लिनभन्दा खसखस मात्र मेटाउने जानकारी लिन बढी उत्सुक थिएँ ।

प्रवचनको निम्तो पाउनेबित्तिकै मैले आपैँmलाई र केही साथीलाई सोधेको थिएँ– यस्तो इतिहास लेखेर चैं कसले र कहाँ राखेको छ ? त्यतिबेला त मैले यसको जवाफ पाइनँ । यसको केही वर्षपछि रासोल सोर्खाबीले हिमाल र मानवको उत्पत्ति शीर्षकको लेखमा मेरो प्रश्नको जवाफ दिएका रहेछन्, ‘टेथिस (सुकेको सागर जसबाट हिमालय बनेको विश्वास गरिन्छ) ले आफ्नो जीवनी चट्टान र जीवाश्ममा लेखेर राखेको छ । उसको जीवनी हिमालयको कथा मात्र होइन हाम्रो ग्रहको प्राचीन र मध्ययुगीन जीवन, जलवायु र भूगोलमा आएको परिवर्तनको रेकर्ड पनि हो ।’
यस्तै रेकर्ड हेरेर वैज्ञानिकहरू उहिले उहिले यहाँ के भएको रहेछ भनी अनुमान गर्छन् । यस्ता कुरा बताउने, एक करोड ३० लाख वर्षसम्म पुराना यस्ता भौगर्भिक र जीवाश्म शास्त्रीय रेकर्ड चुरे पहाडमा धेरै पाइन्छन् रे ।

निना यस्तो रेकर्ड पढ्न जान्ने मानवशास्त्री थिइन् । उनी नेपालमा यस्तै कुराको अनुसन्धान गरिरहेकी थिइन् । प्रवचनको शीर्षक र प्रवचनकर्ताको जीवनीबाट तानिएर २०५७ साल कात्तिकमा म कीर्तिपुरको टीयू मेमोरियल हल पुगेको थिएँ ।

प्रवचनका क्रममा नीनाले भनेकी थिइन्– यो ठाउँ (नेपाल र यसको छिमेकको भूभाग) झन्डै डेढ करोड वर्षअघि बनेको हो । यति पुरानो ठाउँको इतिहास धेरै लामो हुन्छ तर त्यसका बारेमा हामीले थाहा पाएका छैनौं, बुझेका छैनौं । वैज्ञानिकहरूले नेपालको यो पक्षलाई त्यति हेरेका छैनन् ।उनको प्रवचन सुनेर, उनीभन्दा पहिले यस्तो अध्ययन गर्ने मानिसले लेखेका केही कुरा पढेर मेरा मनमा एक करोड वर्षअघिको नेपालको एक किसिमको चित्र कोरियो जुन यस प्रकार छ :

त्यतिबेला अहिलेको नेपाल र भारत श्रीलंकाबाट छुट्टिइसकेका थिए । तर हिमाल आजका जति अग्ला भइसकेका थिएनन् । पहाड बनिसकेको थियो । त्यसैले नेपालबाट तिब्बत पुग्न उकालो–ओरालो बाटो त हिँड्नुपथ्र्याे तर अग्ला हिमालले अहिले जसरी बाटो छेकेका थिएनन् । प्राणी र वनस्पतिको हिँडडुलमा हिमालले अहिले जस्तो बाधा पुर्‍याएका थिएनन् । प्राणी र वनस्पति नेपाल, भारत, बर्मा, चीनका बीचमा पश्चिम–पूर्व र दक्षिण–उत्तर आवतजावत गर्न सक्थे । एक करोड वर्षअघि नेपाल पर्यावरणीय चौबाटो थियो । हिमाल जवान भएपछि चाहिँ प्राणी र वनस्पतिको आवतजावत रोकियो ।तिब्बत अहिलेजस्तो नाङ्गो अर्धमरुभूमि थिएन । त्यहाँ जंगल थियो किनभने त्यतिबेलासम्म हिमाल पूरै अग्लिइसकेको थिएन । हिमालले बंगालको खाडीबाट उत्तर लाग्ने सबै बादललाई अहिलेजस्तो गरी दक्षिणतिरै रोक्दैनथ्यो । पानी पर्ने हुनाले हराभरा थियो ।

हिमालय अग्लिँदै जाँदा मनसुन सुरु भएको त थियो तर अहिलेको जति शक्तिशाली थिएन । अहिले मनसुनले बर्खाका केही महिनामा चाहिएभन्दा बढी पानी पार्छ । यसले गर्दा बाढी पहिरो आइ उपद्रो मच्चिन्छ । बाँकी महिना पानी नपरी सुख्खाको एकछत्र राज चल्छ । बालक मनसुनले यस्तो उपद्रो गर्न सक्दैनथ्यो । पानी सँधैभरि बराबरी जस्तै पथ्र्याे । असी लाख वर्ष जति अघि हिमालय धेरै अग्लिएपछि मात्रै हो अहिलेको जस्तो हुन थालेको ।भिरालो कम भएकाले नदी अहिले जसरी गडगडाएर बग्दैनथे । अहिले जस्ता गहिरा र साँघुरा थिएनन् । मैदानमा नदीको पानीले धेरै ठाउँ ढाकिएको थियो । बाँकी ठाउँमा घना जंगल थियो । त्यस्ता जंगलमा साना स्तनधारी जनावर पनि बस्थे । नेपालमा रिभर क्याटफिस पाइन्थ्यो । पानी बाहिर पनि बाँच्न सक्ने माछा पाइन्थ्यो । रिभर क्याट फिस अहिले पनि पाइने भए नेपालीका लागि अर्काे एउटा खानेकुरा थपिन्थ्यो ।

त्यतिबेला पनि गैंडा पाइन्थ्यो तर त्यसले नरम घाँस मात्र खान सक्थ्यो (अहिलेको गैंडाले पनि तोरी, भर्खर उम्रेको गहुँ, कलिलो धान जस्ता नरम वनस्पति मन पराउँछ) । हात्तीजस्तै जनावर पनि पाइन्थ्यो । त्यसले पनि नरम घाँस मात्र खानसक्थ्यो । अहिलेको हात्तीले भने कडा घाँस पनि खान्छ । तीनवटा टाप भएका घोडा पनि पाइन्थे । हिपोपोटामस आजभोलि अफ्रिकामा मात्र पाइन्छ । यो जनावर एक १ करोड वर्षअघि नेपालमा धेरै पाइन्थ्यो । चालीस लाख वर्ष अघिचाहिँ यो हराएर गयो ।

त्यतिबेला नेपालमा कति जातजातिका, कति मानिस बस्थे होलान् ? तिनले कति भाषा/भाषिका बोल्थे होलान् ?

यी प्रश्नै गलत परेछन् । त्यतिबेला मानिस त के उसका नजिकका पुर्खाको पनि सृष्टि भएको थिएन । अहिलेभन्दा ४० लाख वर्ष (सत्य युग लाग्नुभन्दा केही) पहिलेमात्र मान्छेका अलि टाढाका पुर्खा भन्न मिल्ने दुईखुट्टे प्राणी धर्तीमा आएको थियो । पच्चीस लाख वर्ष (द्वापर युग लाग्नुभन्दा तीन/चार लाख वर्ष) पहिले चाहिँ मानिसका अर्का नजिकका पुर्खाले ढुंगे औजार चलाउन सिके । सीधा उभिन सक्ने खालका मानवका पुर्खाचाहिँ १८ लाख वर्षपहिले (द्वापर युग लागेको साढे तीन लाख वर्षपछि) उत्पत्ति भए । उनीहरूले आगोको आविस्कार गरे । यीभन्दा अघिका मानवका पुर्खा नेपाल आएनन् होला । यी चाहिँ नेपाल आएका थिएजस्तो छ ।

यिनले अर्काे पुस्ता जन्माए । दुईदेखि तीन लाख वर्षपहिले । यीचाहिँ हामी आधुनिक मानवका पुर्खा हुन् । एक करोड वर्षअघि त न मान्छेका टाढाका पुर्खा जन्मेका थिए, न तिनका जातजाति । मानिसले भाषा बोल्न थालेको त हिजोअस्ति १०/२० हजार वर्षपहिले मात्र हो । हामी कुरा गर्दैछौं भाषा जन्मनुभन्दा ९९ लाख ८० हजार जति वर्षपहिलेको ।

त्यतिबेला पानी नभएको ठाउँमा घना जंगल हुँदो हो । यस्तो जंगलमा रामपिथेकस र शिवपिथेकस बस्थे कि बस्दैनथे थाहा छैन । तिनका दौंतरी तिनाउपिथेकस/बटौलीपिथेकस भने पक्का बस्दथे । बुटवलबाट पाल्पा जाने बाटोमा यिनको, एक करोड वर्ष पुरानो बङ्गारा भेटिएको थियो । यस ठाउँमा अहिले पार्क बनाइएको छ । रामपिथेकस र शिवपिथेकस तिनाउपिथेकसका दौंतरी भएकाले रामपिथेकस, शिवपिथेकस पनि नेपालमा बस्थे होला भनी अनुमान गर्न सकिन्छ । यी दुवै कडा रूखका हाँगाबिंगा खान सक्थे । त्यतिबेला रूखमा बस्ने बाँदरका पुर्खा यस्ता जंगलमा घुम्थे । हामीले कुरा गरेको समयभन्दा केही पछि प्रलय भएछ क्यारे † हावापानी, वनस्पति अचानक फेरिए होला । यो प्रलय थेग्न नसकेर होला रामपिथेकस र शिवपिथेकस मासिए । यो हामीले कुरा गरिरहेको समयभन्दा २० लाख वर्षपछि अर्थात् अहिलेभन्दा ८० लाख वर्ष पहिलेको कुरा हो ।

बलियाबाङ्गा रामपिथेकस र शिवपिथेकसलाई समेत मास्ने यस प्रलयले स–साना प्राणी र वनस्पतिको पनि त हुर्मत लियो होला । यस्ता कुरा हेर्नका लागि भौगर्भिक र जीवाश्म शास्त्रीय अनुसन्धान गरिन्छन् । नेपालमा यस्तो अध्ययन सन् १९७० मा मात्र थालियो । डा. रबर्ट वेस्टले यस विषयमा धेरै अध्ययन गरे । उनले ६ वर्ष लगाएर मेरुदण्ड भएका प्राणीका ७,०० अवशेष भेला गरे । गुड्रुन कोर्भिनसले नेपालमा बीस वर्ष लगाएर गरेको अनुसन्धान यस क्षेत्रको अहिलेसम्मको बृहत् अनुसन्धान मानिन्छ । नीनाले १,५०० जति भेला गरिन् । उनका अनुसार, नेपालमा पाइएका हड्डी भाँचिएका छन् । यिनीहरूले नदीले ल्याएका हुन् । केही हड्डी त केका हुन् भनी चिन्न नसकिने खालका छन् ।

(नोट : सत्य युग १७ लाख २८ हजार वर्ष, द्वापर युग १२ लाख ९६ हजार वर्ष, त्रेता युग ८ लाख ६४ हजार वर्ष चलेका थिए र कली युग पाँच हजार वर्ष बित्यो भन्ने दयानन्द सरस्वतीको मान्यताका आधारमा विभिन्न जुग छुट्याइएको हो ।)

सांकेतिक तस्बिर 

प्रकाशित मिति: २०२२-०४-०९ , समय : १९:५३:३१ , ३ वर्ष अगाडि

error: Content is protected !!