झापा एक्सप्रेस , ६३६६ पटक हेरिएको
बिर्तामोड। केटीको विषयमा बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट भएको छ ।
झडपमा एकजना घाइते भएका छन् भने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिकाको किरात चोकमा दुई अपरिचित पक्षबीच झडप भएको हो । केटीको विषयमा अन्दाजी १०÷१२ जना युवाबीच ग्याङ फाइट भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
प्रहरीका अनुसार बिर्तामोड–६ बस्ने ३७ वर्षीय जागिर हुसेन घाइते भएका छन् । उनलाई उपचारको लागि मनमोहन अस्पताल लगिएको छ । त्यस्तै, बिर्तामोड नगरपालिका–५ का १८ वर्षीय अरुण राई, सोही स्थानका १७ वर्षीय सबिन तामाङ र बिर्तामोड–४ का १३ वर्षीय राकिब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट एउटा फलामको कत्ती, एउटा फलामको रडको रोल बरामद भएको छ । तीनजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०९-१० , समय : १०:३६:३१ , ३ महिना अगाडि