झापामा आठौँ राष्ट्रिय भाक्का दिवसको तयारी तीव्र

Jhapa Express , १३१०५  पटक हेरिएको

(दिपेश राजवंशी) भद्रपुर । विगतका बर्सहरूझैँ यस वर्ष पनि आठौँ संस्करणको राष्ट्रिय ‘भाक्का दिवस २०८१’ मनाउने भव्य तयारी सुरु भएको छ । हरेक वर्ष पौष २९ गते राजवंशी, ताजपुरिया , गनगाई , माझी लगायतका समुदायले यस दिन भव्यताको साथ भाक्का दिवस मनाउने गरेका छन् ।

वि.सं. २०७४ साल देखि कोचिला गाभुर फ्रन्ट नामक सामाजिक संस्थाले तराईका आदिवासी राजवंशी, ताजपुरिया ,ठाकुर , गनगाई ,माझी आदि समुदायको संस्कार ,संस्कृति तथा मौलिक परिकारहरूको संवर्द्धन गर्दै देशको सांस्कृतिक विविधतालाई विश्वमा नै उदाहरणीय बनाउने उद्देश्यले हरेक वर्ष पौष २९ गते भाक्का दिवस मनाउने निर्णय गरेको हो । र त्यति बेला देखि नै झापा, मोरङ, सुनसरी र सङ्घीय राजधानी काठमाडौँको विभिन्न स्थानमा एकसाथ विभिन्न कार्यक्रम गरी भाक्का दिवस भव्यताको साथ मनाउने गरिएको छ ।

सुरुवात देखि नै भाक्का दिवसलाई भव्य बनाउन देश तथा विदेशका कलाकार, अतिथि एवं सारा नेपाली जनताहरूले साथ दिएको पाइन्छ । सदाझैँ यस वर्ष पनि राजवंशी समाज विकास समितिले झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रङ्गशालामा आठौँ संस्करणको भाक्का दिवस २०८१ आयोजना गर्दै छ । राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीका अनुसार, यसवर्ष कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

साथै कार्यक्रममा नेपालको लोकप्रिय गायिका रचना रिमाल, भारतीय कलाकार र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ । व्यावसायिक सेफहरूद्वारा भाक्का माछा सँगै विभिन्न परिकारहरूको निःशुल्क वितरण , राजवंशी संस्कृतिसँग सम्बन्धित लोक गरगहना , पहिरन तथा लोकबाजाको प्रदर्शनी रहने कार्यक्रममा हजारौँ भारतीय पाहुना सहित पचास हजार बढी मानिसहरूको सहभागिता रहने र कार्यक्रममा तीस हजार बढी मानिसहरूले भाक्का खाने आकलन आयोजकले गरेको छ।

पूर्वी तराईका आदिवासी राजवंशी समुदायमा जाडो छल्न छोरी चेलीहरूलाई घर बोलाएर र अरू पाहुनालाई समेत भाक्का सँगै ब्वाली माछा ख्वाउने प्रचलन परापुर्वकाल देखि नै रहेता पनि पछिल्लो केही दशकदेखि जाडोयाममा भाक्का हरेक शहर अनि गल्लीको व्यावसायिक परिकार बनेको छ । विशेष गरी जाडो मौसममा खाइने भाक्का ,सबैले खाने र सबै उमेर समूहले मन पराउने परिकार हो । राजवंशी समुदायको मौलिक परिकार भाक्कालाई पछिल्ला दिनहरूमा ठुला तारे होटलहरुको मेन्युमा समेत समाविष्ट गरिएको छ ।

प्रकाशित मिति: २०२५-०१-०३ , समय : ११:५५:०१ , २ दिन अगाडि

error: Content is protected !!