Jhapa Express , १०६७७ पटक हेरिएको
सशस्त्र प्रहरी बल नेपालले सीमा स्तम्भलाई मर्मत गर्न थालेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापाले झापा जिल्लाअन्तर्गत नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा रहेका सीमा स्तम्भहरूको मर्मत थालेको हो । सीमा स्तम्भमध्ये BWG को निर्णयअनुसार सन् २०१४ पश्चात् निर्माण भएका नेपालतर्फबाट मर्मत सम्भार गरिने बिजोर नम्बरका सीमा स्तम्भहरूको मर्मत कार्यको शुभारम्भ मेचीनगर न.पा. १५ सिसुवाडाँगी स्थित सानो सीमा स्तम्भ नं. ९५/१२ बाट गरिएको हो ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कवीन्द्र राई, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक रमेश भुवाजी, जिल्ला प्रशासन कार्यालय झापाका प्रतिनिधि तथा प्रशासकीय अधिकृत टिकाराम निरौला, नापी विभागका प्रतिनिधि तथा नापी अधिकृत दमन न्यौपाने, मेचीनगर १५ का वडा सदस्य बिर्खराज राजवंशी, सशस्त्र सीमा बलका प्रतिनिधिलगायत सीमा सहजीकरण समितिका पदाधिकारी, स्थानीय सीमावासीहरूको उपस्थिति रहेको थियो ।
BWG को निर्णयअनुसार सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूमध्ये सन् २०१४ पश्चात् निर्माण भएका बिजोर नम्बरका सीमा स्तम्भ सशस्त्र प्रहरी बल नेपालले र जोर नम्बरका स्तम्भ भारतीय सीमा सुरक्षा बल (SSB) को तर्फबाट मर्मत सम्भार गर्ने निर्णयअनुसार गत आर्थिक वर्षमा समेत सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सीमा सुरक्षा बल (SSB) द्वारा यसैगरी रंगरोकन तथा मर्मत गरिएको थियो ।
प्रकाशित मिति: २०२५-०१-१० , समय : १२:०२:५३ , ९ घन्टा अगाडि