Jhapa Express , ८८६१ पटक हेरिएको
झापाको कनकाई माई मेलामा जथाभाबी पार्किङ शुल्क उठाउनेलाई कारबाही गरिने भएको छ । माघे सङ्क्रान्तिको अवसरमा लागेको माई मेलामा मनपरी पार्किङ शुल्क उठाएर विगतमा समिति विवादित बनेपछि यस वर्ष कडाई गरिन लागेको हो ।
कनकाई नगरपालिकाले तोकेको दररेटभन्दा बढी शुल्क लिनेहरूलाई तत्काल कारबाही गरिने कनकाई धार्मिक माई मेला समितिका अध्यक्ष किरण मैनालीले बताए । उनले नगरपालिकाले तोकेको पार्किङ र भिटौरीको दररेटभन्दा बढी लिन नपाइने गरी कडाई गरिएको जानकारी दिए ।
नगरपालिकाले साइकललाई २० , मोटरसाइकललाई ५० , कारजीपलाई १०० र बस ट्रकलाई २०० रुपैयाँ पार्किङ शुल्क तोकेको छ । त्यस्तै पसल थाप्ने साना व्यवसायीका लागि न्यूनतम भिटौरी शुल्क २० रुपैयाँ स्क्वायर फुट र स्पेशल भिटौरीका लागि ८० रुपैयाँ स्क्वायर फुट दररेट तोकिएको मैनालीले जानकारी दिए । कनकाई माईमा ७ दिने मेला लागेको हो । पुस २७ गते शनिवार उद्घाटन गरिएको मेला हिजोदेखि औपचारिकरुपमा सुरु भएको हो । सो मेला माघ ३ गतेसम्म लाग्नेछ ।
कनकाई पुल पूर्व कोटीहोम क्षेत्रमा करिब ५० वटा व्यावसायिक स्टल निर्माण गरिएको छ । त्यस्तै मेलामा रोटेपिङ, ब्रेकडान्स , कोलम्बस, ड्रागन, लाइभ कन्र्सटजस्ता खेलतमासाहरु रहेको मैनालीले जानकारी दिए । त्यस्तै मकर स्नान गर्न आउने भक्तालुहरूका लागि धुनीको व्यवस्था गरिएको छ भने नदी वारिपारि गर्न दुई वटा बाँसे पुल निर्माण गरिएको मैनालीले जानकारी दिए । मेलामा निःशुल्क पानी, प्राथमिक उपचारलगायतको व्यवस्था गरिएको उनले जानकारी दिए । यस वर्षको मेलामा गत वर्षको भन्दा बढी सहभागिता रहने आयोजक समितिले अपेक्षा गरेको छ ।
प्रकाशित मिति: २०२५-०१-१३ , समय : १६:२२:३९ , २४ घन्टा अगाडि