झापामा मापसे गर्ने १२६४ चालक कारवाहीमा

Jhapa Express , ५३२७  पटक हेरिएको

झापा जिल्लामा पछिल्लो ६ महिनामा मापसेगरी सवारी साधन चलाउने १ हजार २ सय ६४ चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

मापसे गरी सवारी साधन चलाउन निरुत्साहित गर्न चलाएको अभियानमा सो कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलको भनाइ छ ।

मापसे गर्नेलाई जरिवाना गरेर भएपनि चालकलाई मापसे नगर्नेतर्फ सचेत गराउने प्रहरीले जनाएको छ । मापसे गरी सवारी साधन चलाउनेमा सबैभन्दा धेरै मोटरसाइकल चालक रहेको ट्राफिक प्रहरीको तथ्याङ्क छ । ६ महिनाको अवधिमा ७ सय ३७ मोटरसाइकल चालक मापसेमा परेको प्रहरी निरीक्षक पौडेलको भनाई छ ।

उनले पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) सवारी दुर्घटनाको कारण बन्दै गएको बताए । तीव्र गति लापरबाही, लेन मिच्नेलगायत कारणले सवारी दुर्घटना हुँदा मानिसको बढी मृत्यु हुने गरेकामा पछिल्लो समय चालकले मदिरा पिएर सवारीसाधन चलाउने कारण पनि जिल्लामा दुर्घटना बढिरहेकाले त्यसलाई रोक्न प्रहरी निर्मम भएर लागेको उनी बताउंछन् ।

यसैगरी ४७ ट्रक चालक, ३०३ जिप, भेन, कार, ११९ टेम्पो, अटोरिक्सा चालक ,४६ जना ट्याक्टर चालक, टिपर ११ र बसको १ जना चालक कारवाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा १० हजार बढीलाई प्रशिक्षण गराएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना गराउने उद्देश्यले सञ्चालित अभियानमा सर्वसाधरण बटुवा, स्कुल तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी र सवारी साधनका कर्मचारी रहेको कार्यालय प्रमुख पौडेलको भनाई छ ।

ट्राफिक प्रहरी कार्यालय झापाले सो अवधिमा मापसे कारवाही बाट ८ लाख ६ हजार ५सय रुपैयाँ राजश्व संकलन समेत गरेको जनाएको छ ।

प्रकाशित मिति: २०२५-०१-२३ , समय : ०९:४१:०७ , ११ घन्टा अगाडि

error: Content is protected !!