झापा एक्सप्रेस , १८६८३ पटक हेरिएको
झापा । झापा जिल्लामा ५५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको एचपीभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका ८ हजार ९८१ सहित विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका ४६ हजार १८ गरी ५४ हजार ९९९ जना किशोरीलाई एचपीभी खोप लगाउने जनाएको छ ।
माघ २२ गते विश्व क्यान्सर दिवसका दिनदेखि माघ २९ गतेसम्म एचपीभी खोप अभियान जिल्लाभर सञ्चालन गर्न लागेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए ।
स्वास्थ्य कार्यालयमा मंगलबार आयोजना गरेको एचपीभी खोप अभियान अन्तरगत सञ्चारकर्मीहरुसँग गरिएको अभिमुखिकरण कार्यक्रममा बोल्दै स्वास्थ्य प्रमुख बाह्रकोटीले विद्यालय भन्दा पनि विद्यालय बाहिर रहेका किशोरीहरुलाई खोप लगाउने चौनती देखिएको बताए ।
कोभिड– १९ जस्तै यो खोप पनि अतिआवश्यक रहेकोले विद्यालय बाहिर रहेका किशोरीहरुको पहिचान गरी एक डोज खोप लगाउन स्वास्थ्यकर्मी र स्वयमसेवक वडा÷वडामा परिचालन गरिने उनको भनाई छ ।
मेचीनगर, दमक र बिर्तामोडमा माघ २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । अन्य पालिकाहरुमा माघ २७ गतेसम्म सञ्चालन हुने जनस्वास्थ्य अधिकृत प्रवीण पाठकले जानकारी दिए ।
उनका अनुसार जिल्लाभर ५७५ विद्यालयमा सञ्चालन हुने खोप अभियानमा ७५५ खोप केन्द्र, ७८१ स्वास्थ्यकर्मी र एक हवार ५१५ स्वयमसेवक खटाइने बताए । पाठेघरको मुखको क्यान्सर विश्वमा चौथो तथा नेपालमा दोस्रो स्थानमा रहेको तथ्याङ्कमा उल्लेख छ । अन्य क्यान्सर रोगभन्दा नेपालमा पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुनेको संख्या पहिलो नम्बरमा पर्छ ।
नेपालमा हरेक एक दिनमा चारजनाको मृत्यु हुने गरेको अध्ययनले देखाएको जनस्वास्थ्य अधिकृत पाठकको भनाई छ । यो रोगको लक्षणहरूमा तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, कमजोरी महसुस हुने, रक्त अल्पता हुने लगायत रहेका छन् ।
एचपीभीको २०० भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन् । यसमध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ भने यस मध्ये पनि १६ र १८ प्रजाति प्रमुख कारक हुन । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिन्छ । त्यसैले किशोरीहरुलाई सिकोलिन नामक एचपीभी खोप लगाइने उनले बताए ।
प्रकाशित मिति: २०२५-०१-२८ , समय : १९:०२:२१ , ३ दिन अगाडि