झापा ११ भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा

झापा एक्सप्रेस , ४४२४०  पटक हेरिएको

भद्रपुर, फागुन ८ । झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

झापाका लागि खेलको २९ औँ मिनेटमा एक मात्र गोल बबिन बोहोराले गरे । एरोन थापाको क्रस पासमा बोहोराले वान टच गोल गरेका थिए । उनको गोल नै निर्णायक बन्यो । झापाले क्वार्टर फाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ ।
बी डिभिजन लिगको तयारी गरिरहेको झापाले ए डिभिजन लिग उपविजेता मछिन्द्रलाई पहिलो खेलबाटै घर फर्काएको छ ।

खेलको प्लेयर अफ द म्याच झापाका गोलकिपर सन्दिप लिम्बू भए । उनले नगद २१ हजारसहित ट्रफी पाए । शुक्रबारको पहिलो क्वार्टर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लबबीच हुनेछ ।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछन ।
प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

प्रकाशित मिति: २०२५-०२-२० , समय : १९:४७:०६ , १ महिना अगाडि

error: Content is protected !!