एसईईका परीक्षार्थीहरुका लागि बिरिङ पुल खुल्ला गरिने

झापा एक्सप्रेस , ५७३८  पटक हेरिएको

झापा,फागुन २८ । भोलिदेखि एक महिनाका बन्द गरिन लागिएको बिरिङ पुल दिनमा दुई पटक खुल्ला गरिने भएको छ ।

एसईई परीक्षा दिन जाने विद्यार्थीहरुका लागि दिनमा दुई पटक सो पुल खुल्ला गरिने भएको हो । परीक्षा दिन जाने समय बिहान ७ देखि ८ बजेसम्म र परीक्षा दिएर फर्किने समय बिहान ११ देखि साढे १२ बजेसम्म सो पुल खुल्ला गरिने भएको झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले जानकारी दिइन् ।

एसईई परीक्षाकै समयमा पुल बन्द गरिँदा विद्यार्थीहरुलाई आवतजावतमा समस्या हुने भन्दै डिल्लीराज माध्यमिक विद्यालयका शिक्षकहरुले गाउँपालिका कार्यालयलाई ध्यानाकर्षण गराएका थिए । त्यसपछि गाउँपालिकाकी कार्यवाहक अध्यक्ष थपलियाले पुल मर्मतको जिम्मेवारी पाएका ठेकेदारसंग कुरा गरेकी थिइन् ।

डिल्लीराज माविका विद्यार्थीहरुको लागि एसईई परीक्षाको परीक्षा केन्द्र पशुपति मावि राजगढमा परेको छ । उनीहरुलाई हुलाकी मार्गको सोही बिरिङ पुल हुँदै परीक्षा दिन आउनु पर्ने भएको छ । डिल्लीराज माविका ७२ जना नियमित र ४५ जना ग्रेडबृद्धि गरी ११८ जना विद्यार्थीहरुले पशुपति मावि राजगढमा गएर एसईई परीक्षा दिने भएका छन् ।

यही फागुन २९ देखि आगामी चैत २८ गतेसम्म बिरिङ पुलबाट पूर्णरुपमा आवतजावत बन्द गरिने भएको हो । झापा गाउँपालिकाले सूचना जारी गरी जिल्ला प्रशासन कार्यालयको च.नं. ७६३४, मिति २०८१–११–२६ को प्राप्त पत्र अनुसार मेची–रतुवा सडकस्थित झापा गाउँपालिका वडा नं ५ (पश्चिमतर्फ) र बाह्रदशी गाउँपालिका वडा नं २ (पूर्वतर्फ) सीमामा रहेको विरिङ खोलाको केही बियरिङहरु परिवर्तन गरि नयाँ बियरिङहरु राख्नु पर्ने भएकोले करिब एक महिना बिरिङ पुलबाट पूर्णरुपमा आवतजावत बन्द हुने जानकारी गराएको छ ।प्रतिदिन दैनीकमा खबर छ .

प्रकाशित मिति: २०२५-०३-१२ , समय : १४:२७:५८ , ७ घन्टा अगाडि

error: Content is protected !!