राष्ट्रिय सहकारी दिवसको अवसरमा कनकाईमा कार्यशाला गोष्ठि

झापा एक्सप्रेस , ४८४६  पटक हेरिएको

कनकाई , १९ चैत्र / झापाको कनकाई नगरपालिकाले राष्ट्रिय सहकारी दिवसको अवसर पारेर अन्तरक्रिया कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । नगरले मंगलबार नगरपालिकाको सभा हलमा ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर अन्तरक्रिया कार्यशाला गोष्ठि सम्पन्न गरेको हो ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यशाला गोष्ठि कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले स्वागत गर्नुभएको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले सहकारी संस्थाहरु अधिकांश राम्रा भएका र उनीहरुले धेरै राम्रा कामहरु पनि गर्दै गरेको बताउनुभयो । उहाँले केही सहकारीहरुका कारण राम्रो कार्य गर्ने सहकारीलाई पनि एउटै नजरले हेर्न नहुने बताउँदै भ्रामक हल्लाकापछि नलाग्न आग्रह गर्नु भयोे ।

नगर प्रमुख पोखरेलले अझै पनि कतिपय सहकारीहरु स्थानीय तहसँग नजोडिएको बताउँदै आगामी बर्षदेखि जोडिन आग्रह गर्नुभयो । सहकारीहरु स्थानीय तहमा जोडिएर आए स्थानीय तहबाटै समस्या समाधान गर्न सहज हुन सक्ने उहाँको भनाई थियो ।

सहकारीमा देखिएका समस्या समाधानकै लागि ६८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा अन्तरक्रिया गोष्ठी आयोजना गरिएकोले ध्यान दिएर सहकारीका नीति नियमबारे जानकारी लिन नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाले सवैले आग्रह गर्नुभयो ।

कनकाई नगरपालिका भित्र रहेका सहकारीको अवस्था, चुनौती, समस्या र समाधानका बिषयमा नगर सहकारी शाखा प्रमुख कमला विश्वकर्माले जानकारी गराउनुभएको थियोे । विश्वकर्माले प्रस्तुत गरेको सहकारीको अवस्था अनुसार हाल नगरपालिका भित्र ५१ वटा सहकारी संचालनमा रहेका छन । जसमा कनकाई नगरमै मुख्य कार्यालय र सेवा केन्द्र रहेका १८ वटा, मुख्य कार्यालय अन्य ठाउमा भएका सहकारीका १० वटा सेवा केन्द्र र कनकाईमा मात्र मुख्य कार्यालय रहेका १३ वटा गरी ४१ सहकारी संस्था नगर संग जोडिएर सञ्चालनमा रहेका छन् भने १० वटा नगर संग जोडिने प्रक्रियामा रहेका छन ।
कार्यक्रममा कनकाई १ का वडाध्यक्ष सुशिलाकुमार पोखरेल, २ का वडाध्यक्ष बलराम राई (प्रताप), ३ का वडाध्यक्ष युवराज चम्लागाई, ४ का वडाध्यक्ष रोशन सुवेदी, ५ का वडाध्यक्ष कृष्णबहादुर राई , ८ का वडाध्यक्ष लीलाबहादुर कटुवालसहित जनप्रतिनिधि , नगर भित्रका सहकारीका प्रमुख तथा प्रतिनिधि , नगरका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरका कर्मचारी उमानाथ ढकालले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२५-०४-०१ , समय : १९:५९:५६ , १ दिन अगाडि

error: Content is protected !!