झापा एक्सप्रेस , १२५६५ पटक हेरिएको
शरणामती-आजभोली स्थानीय तहको निर्वाचनका लागि सरकारी जागिर छोडेर उम्मेदवार बन्नेको जमात बढ्दै गएको छ। स्थायी सरकारी जागिर देखि अस्थायी र करार सेवा सम्मको जागिर छोडेर स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका छन्।
झापा गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार बन्न आकांक्षी बनेकी अन्जु थपलियाले सिनियर अनमी पदबाट राजिनामा दिएकी छन् ।थपलिया नेपाली कांग्रेसबाट उपाध्यक्षको उम्मेदवार बन्न उम्मेदवारको लाइनमा छिन् ।शरणामती स्वास्थ्य चौकीमा कार्यरत थपलियाको जागिर अवधी अझै ६ वर्ष बाँकी थियो ।
२०४९ साल देखि स्वास्थ्य सेवा अन्तर्गत अनमीमा काम गर्न थालेकी थपलिया हाल सिनियर अनमीमा कार्यरत थिइन् ।राजनीतिक माध्यमबाट जनताको सेवा गर्ने इच्छा जागेकोले आफुले भर्खरै जागीरे जीवनबाट स्वच्छिक राजिनामा लिएको थपलियाले बताइन ।
नेपाली कांग्रेस झापा गाउँपालिकाबाट उपाध्यक्ष पदमा आकांक्षा राख्ने थपलिया सहित पुस्पा प्रसाई,बसुन्धरा थपलिया सहित तिन उम्मेदवारले आ-आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।नेपाली कांग्रेसको भेलाले अहिले सम्म उपाध्यक्षको उम्मेदवार कसलाई बनाउने हो भन्ने सर्वसम्मत गर्न सकेको छैन ।नेकाको झापा गाउँपालिका समितिको बैठक निरन्तर बसि रहेको छ ।यता गठबन्धनको सम्भावना समेत टुंगो लाग्न सकेको छैन ।
प्रकाशित मिति: २०२२-०४-२० , समय : १९:३५:३७ , ३ वर्ष अगाडि