झापा एक्सप्रेस , १०४३४ पटक हेरिएको
चितवन-भरतपुर महानगरपालिकामा ३१ हजार ५२८ मतगणना गर्न बाँकी रहेको छ । हालसम्म यस पालिकामा ९६ हजार ३११ मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महानगरको १ देखि २० नम्बरसम्मको गणना सकिएको छ ।
अहिलेसम्मको गणनाअनुसार महानगरपालिकाको प्रमुख पदमा पाँच दलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले आठ हजार २९५ मतले अग्रता लिनुभएको छ । दाहालले ३७ हजार ९२८ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले २९ हजार ६३३ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ४६३ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १६ हजार ६७८ मत अन्तरले अग्रता लिनुभएको छ । अधिकारीले ४० हजार १२१ मत प्राप्त गर्दा गुरुङले २३ हजार ४४३ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरमा हाल वडा नम्बर २१ र २२ को मतगणना जारी रहेको छ । यस पालिकामा २९ वटा वडा रहेका छन् । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।(रासस)
प्रकाशित मिति: २०२२-०५-२२ , समय : १९:५१:५६ , ३ वर्ष अगाडि