जोखिममा विद्यार्थी: ठेकेदार कम्पनीको लापरबाही प्रति सरोकार पक्ष मौन

युवराज रेग्मी , १७५६१  पटक हेरिएको

श्री अमर माध्यमिक बिद्यालयको प्रवेशद्वारमा अलपत्र छोडिएको ड्रेन-तस्बिर युवराज रेग्मी

झापा-राष्ट्रिय राजनीतिमा प्रभाव जमाइसकेका नेताहरूको ग्रामीण गृहनगर गौरादह नगरपालिका पूर्वकै एक चर्चित नगरपालिका अन्तरगत पर्दछ । विभिन्न विषयहरूमा चर्चा कमाउने झापाको गौरादह नगरपालिकामा पछिल्लो समयमा  विकास निर्माणका दर्जनौँ आयोजना निर्माणाधीन अवस्थामा छन् । विकास निर्माणका आयोजना सञ्चालित भएपनि सुस्तगतिको निर्माण प्रकृयाले स्थानीय जनताहरू सास्ती भोग्न बाध्य छन् ।

लथालिङ्गे पाराका विकास आयोजनाहरु दुर्घटनाका कारक बन्दापनी सरोकार वाला निकायहरू मौन रहँदा यहाँका स्थानीय जनता आजित बनेका छन् । यस्तै एक उदाहरण अन्तरगत गौरादह नगरपालिकाको मुख्य बजार गौरादह बजारबाट कृषि थोक बजार जाने सडकको बायाँतर्फ सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरको बजेट लगानीमा करिब डेढ बर्स अघिदेखि निर्माण हुँदैगरेको ड्रेन निर्माणकार्यले गति लिन नसक्दा त्यहाँका स्थानीयवासीहरू सास्ती भोग्न बाध्यछन् ।

सोही सडक खण्डमा पर्ने अमर माध्यमिक विद्यालय छेत्रमा निर्माण गरिएको ड्रेन खुल्लै रहँदा त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरू जोखिम मोलेर विद्यालय प्रवेश गर्दै आएका छन्। यसका अलाबा उक्त सडकखण्डमा त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको सम्बन्धन प्राप्त गौरादह कृषि क्याम्पस, एक निजी माध्यमिक विद्यालय, एक मन्टेश्वरी विद्यालय, एक सार्वजनिक मन्दिर तथा गौरादहकै एकमात्र कृषि थोक बजार पनि पर्दछ ।साथै निर्माणाधीन अवस्थामा रहेको गौरादह बहुमुखी क्याम्पस र लायन्स चिल्ड्रेन पार्क पनि यसै सडकखण्ड अन्तर्गत पर्ने शाखा सडकमा पर्दछन् । नगरकै मुख्य बजारमा पर्ने उक्त सडकमा दैनिक सयौँको सङ्ख्यामा मानिसहरू आवत जावत गर्ने गर्दछन् ।

गौरादह नगरपालिका वडा नं २ को वडा कार्यालय तथा निर्माणाधीन अवस्थामा रहेको वीपी स्मृति भवन पनि सोही सडकमार्गको भित्री सडकमा पर्ने हुनाले यति धेरै महत्व बोकेको सडकमा निर्माण गरिने जुनसुकै विकास निर्माणका कार्यहरूलाई अति संवेदनशील ढंगबाट अगाडि बढाउन आवश्यक देखिन्छ । यतिका महत्व बोकेका सार्वजनिक सरोकारका संस्थाहरू रहेको उक्त सडक खण्ड विकास निर्माणको बहानामा बर्सौँ देखि लथालिङ्ग पारिदा दुर्घटनाको कारण बन्दैगएको छ । “बर्खा मौसम लागि सक्यो निर्माण कम्पनीले लथालिङ्ग छोडेको ड्रेनमा नजिकै रहेको विद्यालयका बालबालिकाहरु जोखिम मोलेर विद्यालय प्रवेश गर्दा जुनसुकै बेला उक्त ड्रेनमा परि मानबिय छ्यती हुन सक्छ , दुर्घटना भए यस्को जिम्मा कस्ले लिने ” स्थानीय ओम कुमार राजबंशीले गुनासो पोख्छन ।

प्रकाशित मिति: २०२२-०६-०६ , समय : २०:३९:०३ , ३ वर्ष अगाडि

error: Content is protected !!