झापा एक्सप्रेस , २३७०९ पटक हेरिएको

शरणामती– ´ईलाका प्रहरी कार्यालय कुमरखोदको भवन बनाएको मजदुरको समेत रकम नदिएर पेटी ठेकेदारनै वेपत्ता छन् , सम्पर्क गर्न खोज्दा समेत सम्पर्क हुन सकेको छैन` मुस्तफा मियाँले भने। मुस्तफा झापा गाउँपालिका-२ मा बन्दै गरेको प्रहरी भवनको सेटी ठेकेदार हुन्।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर १ को बजेटबाट संचालित भवन निर्माणका लागि भ्याट सहित दुई करोड पैतिस लाख सतासी हजार अठ्ठाइस रुपैयाँमा टक्सार निर्माण सेवा प्रालि काठमाण्डौंले २०७६ साल जेठमा सम्झौता गरि एक वर्षमा सक्ने गरि २०७७ साल जेठमा सम्पन्न मिति तोकेको थियो। कार्यालय भवन, व्यारेक,मेष,सेफ्टी ट्याङ्की र सोकपिट बनाउने जिम्मा लिएर काम थालेको टक्सारले भवन निर्माणका लागि विर्तामोड घर भएका मनी लिम्बुलाई पेटी ठेक्कामा जिम्मा दियो।लिम्बुले फेरि सेटी ठेक्कामा झापा गाउँपालिकाका मुस्तफा मियाँ र हर्कबहादुर लिम्बुलाई मिस्त्री र हेल्परको काम गर्न जिम्मा दिए।
कामको जिम्मा पाएर काममा लागेका मुस्तफा र हर्कले भवन निर्माणमा धमाधम काम गर्न थाले।उनीहरुको जम्मा १३ लाख खर्च भएको छ।मियाँले भने मजदुरलाई अझै ५० हजार दिन बाँकी छ।१३ लाखमा ९ लाख पेटी ठेकेदारले भुक्तानी गरे पनि अझै मजदुरको समेत गरेर ४ लाख ५० हजार दिन बाँकी छ।पेटी ठेकेदारनै बेपत्ता छन् ।मैले घरको मकै बेचेर भएपनी यहाँ लगानी गरेको छु अब मैले के गर्ने?पेटी ठेकेदारलाई फोन गर्दा फोन नलागेको उनले बताए।
सम्झौता अनुसार भवनमा सेफ्टी ट्याङ्की बनाउन र झ्याल ढोका बनाउन ,पेन्टिङ गर्न बाँकी छ।निर्माण सम्पन्न मिति २ वर्ष अघिनै सकिएको भवन अझै अलपत्र रहेको छ।
यता पुरानै कार्यालयबाट सेवा दिदै गरेका प्रहरीलाई ज्यानकै जोखिम रहेको छ।२००१ सालमा स्थापना भएको ईलाका प्रहरी कार्यालय अहिले जिर्ण अवस्थामा रहेको छ।छतबाट पानी चुहिने,सिमेन्टका ढिक्का खस्ने गरेका छन् ।सुत्दा कतिखेर सिमेन्ट खस्ने हो भनेर डर मान्दै सुत्नु पर्छ प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक रत्नबहादुर श्रेष्ठले बताए।उनले छत तिर देखाउँदै भने यहाँ अस्ति भर्खरै सिमेन्ट खसेर दुइटा कुर्सीनै भाचियो।सारै जोखिम छ भवन कहिले सम्पन्न हुने हो।
प्रकाशित मिति: २०२२-०६-११ , समय : २०:४३:५३ , ३ वर्ष अगाडि