नेकपा(एकीकृत समाजवादी)मा जनताको आकर्षण बढेको छ : अध्यक्ष नेपाल

रासस , १६७९०  पटक हेरिएको

फाइल तस्बिर

कास्की-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थापनाको छोटो समयमै आफ्नो पार्टीमा जनताको आकर्षण बढेको बताउनुभएको छ ।

मुस्लिम इत्तेहाद सङ्गठनको गण्डकी प्रदेशस्तरीय भेलाको आज पोखरामा उद्घाटन गर्दै उहाँले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पार्टीलार्ई देशैभर थप स्थापित गर्नेसमेत बताउनुभयो । संविधान र लोकतन्त्र जोगाउन र समग्र परिवर्तनको रक्षाका लागि पार्टी स्थापना गरिएकाले समेत जनतामा पार्टीप्रति उत्साह बढेको उहाँको भनाइ छ ।

अध्यक्ष नेपालले पार्टीका नेता–कार्यकर्तालाई सङ्गठन निर्माण गरेर चुनावको तयारीमा लाग्न र जनतामा जान निर्देशनसमेत दिनुभयो । उहाँले गठबन्धनका दलले एक्लै बहुमत ल्याउँछु भनेर घमण्ड र अहङ्कार नदेखाउनसमेत आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “गठबन्धन भएका स्थानमा गठबन्धनका उम्मेदवारलाई र पार्टीको एकल उम्मेदवारी भएका ठाउँमा पार्टीका उम्मेदवारलाई विजयी गराउन लाग्नुहोला । जनताको दुःख, सुखमा साथ दिने काम गरेर निर्वाचनमा पार्टीलाई महत्वपूर्ण शक्तिका रूपमा स्थापित गर्नुपर्नेछ ।”

गत स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सफलता प्राप्त गर्न नसके पनि पोखरा महानगरपालिका र हेटौँडा उपमहानगरपालिकामा प्रमुख पदमा जित्न सफल भएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले धेरै स्थानमा पार्टीको चुनाव चिह्न जनतालाई चिनाउन नसकेको र धेरै मत बदर भएकाले समेत अपेक्षित नतिजा प्राप्त हुन नसकेको बताउनुभयो ।

नेपालमा मुस्लिम समुदायमा रहेको गरिबी अन्त्य गर्नुपर्ने खाँचो रहेको बताउँदै अध्यक्ष नेपालले राज्यको तर्फबाट पिछडिएको वर्गका लागि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सो कार्यक्रममा प्रतिनिधिसभाका सांसद कलिला खातुन, पोखरा महानगरका प्रमुख धनराज आचार्य, मुस्लिम इत्तेहाद सङ्गठनका अध्यक्ष ताजमहमद मियाँलगायतले मुस्लिम समुदायको हक–अधिकारका बारेमा राज्य जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: २०२२-०८-०६ , समय : २०:०६:२६ , २ वर्ष अगाडि

error: Content is protected !!