ओली ३ पटक प्रधानमन्त्री हुँदा पनि बनेन आफ्नै निर्वाचन क्षेत्रको पुल

डिकेश लामा , १४०२४  पटक हेरिएको

झापा–झापाको हुलाकी सडक अन्तर्गत रतुवाखोलाको पुल ढेड दशकसम्म संचालनमा आउन सकेको छैन । हरेक निर्वाचनमा अधुरो रतुवा पुलले चाँडै पूर्णता पाउने नारा अघि सारिए पनि अझै पुलले पूर्णता नपाउँदा यात्रुहरुले ज्यान जोखिममा राखेर हिड्नु पर्ने बाध्यता हट्न सकेको छैन ।

खोला भन्दा छोटो पुल झापा र मोरङ्गको सिमानामा पर्ने रतुवा खोलामा बनाउन थालिएको झण्डै ढेड दशक भइसक्यो । हरेक निर्वाचनमा भोट माग्दा पुल पुरा हुन्छ भन्न पनि छाडिन्दैन । देशकै प्रधानमन्त्री ३ पटक बन्दा समेत आफ्नै निर्वाचन क्षेत्रमा रहेको रतुवा पुल बन्न नसक्दा केपी ओलीले अन्य गरेका विकासका कामहरु समेत ओझेलमा परेका छन् । निर्वाचन क्षेत्रका जनताले बारम्बार पुल बनाउन माग गरे पनि पूर्णता नपाउँदा उच्च पदमा पुग्नु भएका प्रभावशाली नेताको रुपमा मानिदै आएका नेकपा एमालेका अध्यक्ष ओलीले दक्षिणी भेगमा धेरै आदिबासी समूदायको बसोवास गर्ने भएकाले उपेक्षा गरेको गौरीगंज गाउँपालिका वडा नं. ५ का अकालु गन्गाईले बताउनु भयो । पूर्व प्रधानमन्त्री ओलीले गौरादहमा भएको एक कार्यक्रममा हुलाकी सडक राम्रो बनिसकेको बताउनु भयो । तर रतुवाको पुलले केही समस्या भएको र यस बर्ष बजेट छुटिएकाले चाँडै पुल बन्ने उहाँले बताउनु भयो ।

बर्षातको समयमा पनि दैनिक ५ सय देखि १ हजारसम्म यात्रुले जोखिम मोलेर डुङगाको भरमा यात्रा गर्नु पर्ने हुन्छ । दक्षिणी झापा गौरीगंजका मानिसहरु पुल नहुँदा एक किलो मिटर पारी रहेको बस्ती पुग्न बाढी आउँदा झण्डै ३० किलो मिटर बाटो घुम्नु पर्दा अति जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता रहेको उनीहरुले बताएका छन् ।

मोरङ-सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४/६५ मा कालिका-ओसिए जेभीलाई निर्माण ठेक्का दिएको थियो । भ्याट सहित १० करोड ३२ लाख ९१ हजारमा ठेक्का पाएको निर्माण कम्पनीले ढुकुटीबाट पैसा लिए पनि पुल निर्माण पूरा गरेको छैन । प्रदेश १ को राजधानी विराटनगरदेखि झापाको भद्रपुर जोड्ने हुलाकी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा रहे पनि रतुवा पुलका कारण सो राजमार्ग प्रयोगमा समस्या रहेकाे छ ।

पछिल्लो समय हुलाकी सडक खण्ड अन्तर्गत झापाको अधिकांश सडक कालो पत्रे बनी सकेको छ । तर रतुवा खोलाको पुल खोला भन्दा छोटो भएकाले सडक संचालनमा आउन नसक्दा समस्या भएको गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवति राजबंशीले बताउनु भयो ।

संघीय राज्य संरचना कार्यन्वयनमा आएको ५ बर्ष पछि पुनः प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर ४ गते सरकारले गर्ने तयारी गरेको छ । हरेक निर्वाचनमा चुनावी नारामा पूर्णता पाउने भनिएको रतुवा पुल अझै संचालनमा आउन नसक्दा बर्षौंको समस्या हट्न नसकेको यात्रुहरुले दुखेसो पोखेका छन् ।

About Post Author

प्रकाशित मिति: २०२२-०९-२५ , समय : २०:१३:४६ , २ वर्ष अगाडि

error: Content is protected !!