एमाले-राप्रपा तालमेलले गठबन्धन अतालिएको छ – भक्ती सिटौला

झापा एक्सप्रेस , १२९१९  पटक हेरिएको

झापा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभामा राप्रपा-एमाले साझा उम्मेदवार रहनुभएका भक्ती प्रसाद सिटौला राप्रपाका केन्द्रिय प्रवक्ता समेत हुनुहुन्छ। लामो समय नेपाली कांग्रेसमा रही सक्रिय राजनीतिमा रहनुभएका अधिवक्ता सिटौला २०७० सालमा राप्रपा प्रवेश गर्नु भएको हो। नेपाल विद्यार्थी संघबाट सक्रिय राजनीतिमा आउनुभएका सिटौला विपीको आदर्श र सिद्दान्तलाई छोडेर लथालिंग भएकै कारण कांग्रेस त्यागेको बताउनुहुन्छ। निर्वाचनकै सन्दर्भमा केन्द्रित रहेर नेता सिटौला संग पत्रकार सान नेपालले गर्नु भएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ –

तपाईं झापा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदवार हुनुहुन्छ, यस क्षेत्रका मुख्य मुख्य समस्याहरु के के हुन् ?

यस क्षेत्रमा यातातात, शिक्षा, स्वास्थ्य, खानेपानी, संचार र बिद्द्युधिकरणका समस्याहरु मुख्य छन्। सडक संजालको बिकास हुन थालेको छ। यसलाई पूर्णता दिने पर्ने अपरिहार्य आवस्यकता छ। अधिकांश बिद्यालयहरुमा सुबिधा सम्पन्न भवन निर्माण गर्नुपर्ने छ। गुणस्तरीय शिक्षाको चुनौती एकातिर छ भने प्राबिधिक बिद्यालयहरु, धार्मिक बिद्यालयहरुको स्थापना गरि दक्षजनशक्ति उत्पादन गर्नु टड्कारो आवश्यकता छ। दक्ष जनशक्ति विदेश पलायन हुँदा देशव्यापी रुपमा देखा परेको समस्याले मेरो क्षेत्र पनि मुक्त छैन। रोजगारी मुलक उद्द्योगधन्दाको विकास गर्न सके आम युवाहरुलाई आफ्नै गाउँघरमा रमाएर जीवनयापन गर्ने अवस्था सिर्जना गर्न सकिने थियो। झापा गाउँपालिका, महाभारा र कोरोवारी जस्ता ग्रामिण क्षेत्रमा खानेपानीको समस्या टड्कारो छ। सबै ठाउँमा सुद्दखानेपानी वितरण हुन नसक्दाको विकराल अवस्थालाई पनि मैले चुनौतीकै रुपमा लिएको छु। नेकपा एमालेका सम्माननीय अध्यक्ष के पी ओलीको पहलमा निर्माण हुन थालेको हुलाकी राजमार्गले यस क्षेत्रका जनतालाई ठुलो राहत प्रदान गरेको छ यद्दपी कन्काई र विरिंगमा पुल निर्माण सम्पन्न हुन नसक्दा हुलाकी राजमार्गको प्रयोग गर्न असुविधा हुने नै भयो। यस क्षेत्रका सबै भागमा टेलिफोन टावर पुग्न नसक्दा संचारको पहुँचमा समेत थप कठिनाई रहेको छ। त्यस्तै धार्मिक सांस्कृतिक पर्यटकिय केन्द्रहरुको विकास गरि आन्तरिक र बाह्य पर्यटकहरु भित्र्याउदै पर्यटक उद्द्योगको बिकास गर्नु पनि यस क्षेत्रको मुख्य आवश्यकता नै हो। आदिवासी जनजातीका तमाम समस्या लगायत सन्थालजातीको ठुलो बसोबास रहेको यस क्षेत्रमा सन्थाल संग्रहालय स्थापना गर्नुपर्ने महत्वपूर्ण आवश्यकता छ।

तपाईंले मतदाता संग गर्ने प्रतिबद्दताहरु के कस्ता छन् ?

यस क्षेत्रका समस्याहरुनै मैले मतदाता संग गरेका प्रतिबद्दताहरु हुन्। शिक्षामा सुधार गर्ने प्रतिबद्दता गरेको छु, प्राबिधिक शिक्षालयहरुको स्थापना गर्छु भनेको छु, धार्मिक मठ मन्दिरहरुको विकास गरेर पर्यटन उद्द्योगको बिकास गर्छु भनेको छु। मुख्य चुनौतीको रुपमा रहेको बिरिंग र कन्काई तटबन्धनको कार्यलाई प्राथमिकता साथ उठाउछु भनेको छु। सिचाईको व्यवस्थापन, उन्नत जातको बिउ वितरण, कृषि बिज्ञहरुको व्यवस्थापन, समयमा मलविउको वितरण, स्टोरेज हाउस र चिस्यान केन्द्रको स्थापना गर्छु भनेर प्रतिबद्दता गर्छु भनेको छु। पशुपालन, मत्स्य पालन, मौरीपालन, लगायतका विषयलाई व्यवसायीकरण गर्न र कृषि उपजको बजार व्यवस्थापन गर्न मेरो मुख्य कर्तव्य नै हुन आउछ। दैनिक जनजीवनमा प्रत्यक्ष जोडिएका अत्यावश्यक विषयहरुलाई प्रदेश र केन्द्रतह सम्म पुर्याएर दिर्घकालिन विकासको खाका तयार गर्छु भनेर प्रतिबद्दता गरेको छु।

जनता संग गरेका बाचा पुरा गर्न सकिएला त ?

राष्ट्रिय प्रजातन्त्र पार्टीले जनतासंग गरेका बाचाहरु एक्लै पनि समाधान गर्न सक्ने सामर्थ्य राख्ने पार्टी हो। अहिले हामीलाई एमाले जस्तो बिकासबादी, राष्ट्रबादी पार्टीको साथ छ। राष्ट्रबादी शक्ती र प्रजातन्त्रबादी शक्तीको मिलन बिन्दु भएको बेला झापा जिल्लाको ४ (ख ) मा मात्र नभएर देशव्यापी रुपमा बिकासको छलाङ्ग मार्ने निश्चित छ। हामी गर्छौं र गरेरै छाड्छौं। सम्रिद्द नेपाल सुखी नेपालीको नारालाई पूर्णता दिने अवसर यहि निर्वाचनको नतिजाले दिनेछ।

गठबन्धनले मुलुकभर जित हात पार्छौं भनिरहदा तपाईंले आफ्नो स्थान कसरी सुरक्षित राख्न सक्नु हुन्छ ?

भन्नु र गर्नु फरक कुरा हो। यो गठबन्धनको सरकारलाई जति नै निन्दा गरे पनि कम हुन्छ। भ्रस्टाचार र व्यथितिको नमुनाको रुपमा रहेको गठबन्धनले जित्छ भन्नु आफैंमा हास्यास्पद कुरा हो। अहिले मुलुकमा दिगो विकास र राष्ट्रियता प्रति कठोर हुनुपर्ने आवश्यकता छ। एमसी र एस पी पी ल्याएर राष्ट्रियता प्रति खलल पैदा गर्ने बिदेशी दलालहरुलाई हराएर राष्ट्रबादी शक्तीलाई जिताउनकै लागि भोट हाल्न जनता आतुर छन्।

एमाले संगको तालमेलको व्यवहारिक अवस्था कस्तो छ ?

हाम्रो तालमेल भनेको इमान्दार शक्तिबीचको मिलन हो। मुलुकका विभिन्न भागमा हामीले एमाले संग तालमेल गरेका छौं। झापाको हकमा निर्वाचन क्षेत्र नम्बर ३ मा हाम्रो पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेन जी लाई एमालेले सघाउने, त्यस्तै निर्वाचन क्षेत्र नम्बर १ को (ख ) मा सविना बजगाईंजीलाई जिताउन होलो चिन्हमा मतदान गर्ने र निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा म भक्ति सिटौलालाई एमालेले सघाउने गरि तालमेल भएको छ। मेरो क्षेत्रमा एमालेका विकासप्रेमी नेता एल पी साँवा जी प्रतिनिधिसभा सदस्य पदमा उठ्नु भएको छ। हामी अहोरात्र मतदाता संगै छौं। दुवै पार्टीका मतदाता र कार्यकर्ताहरुले इमान्दार भएर मतदान गर्ने कुरामामा कुनै सन्देह छैन किनकी जव जव यो देशलाई विदेशीबाट खतरा महस हुन्छ तवतव राष्ट्रवादी शक्ति एक ठाउँमा उभिनु जरुरी हुन्छ। एमाले संगको हाम्रो पुरानो र भावनात्मक सम्बन्ध छ। यो कुरा नेपाली जनताले राम्रो संग बुझेका छन्।

त्यसो भए विजयी हुने कुरामा ढुक्क हुनुहुन्छ होइन त ?

अवस्य हो। घर दैलो अभियान शुरु गरको पहिलो दिनबाटै हामीले विजयको यात्रा सुरु गरिसकेका छौं। मतदाताको उत्साह देख्दा निकै फराकिलो अन्तरले हामी विजयी हुने कुरामा कुनै सन्देह छैन।

निर्वाचन पछि कस्तो सरकार बन्ला भन्ने लाग्छ ?

हामीले देशव्यापी प्रेडिक्सन गरेका छौं। नेकपा एमालेले पनि देशव्यापी सर्वे गरिसकेको छ। यो पटक देशद्रोहीहरुलाई परास्त गर्दै राष्ट्रबादी शक्तिको जित हुन्छ र आम नेपाली जनताको चाहना बमोजिमको राष्ट्रबादी सरकार बन्ने कुरामा ढुक्क छु।

एमाले संगको तालमेलले राप्रपालाई विवादास्पद बनायो भन्ने आरोप लागेको छ नी ?

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो आदर्श छोडेको छैन , राप्रपा आफ्नै दर्शन र सिद्दान्तमा चलेको पार्टी हो। गठबन्धनको नाममा ४ / ५ वटा दल एकातिर उभिएर निर्वाचन लड्दै गर्दा हामीले पनि तालेमेलको आवश्यकता महसुस गरेका हौँ। एमालेको आफ्नै मौलिकता छ र उसको आफनी दर्शन छ। तत्कालिन अवस्थामा तालमेल गरिएको हो। हामी कसैको मुद्दामा घिसारिएर डोहोरियेर गएका होइनौं। हामीले अरुको जस्तो अभद्र र अप्रिय गठबन्धन गरेका पनि छैनौ। आवश्यकता अनुसार कतिप स्थानमा तालमेल भएको हो। निर्वाचन पछि हामी आ – आफ्नै गन्तब्यमा हुने छौं। एमालेले प्रतिनिधि सभामा १३९ स्थानमा प्रतक्ष्य तर्फ उम्मेदवार उठाएको छ। हामीले पनि १४३ स्थानमा उम्मेदवार उठाएका छौं। समानुपातिकमा ११० सदस्यकै लागि हाम्रा उम्मेदवार हुनुहुन्छ। जहाँ हाम्रा प्रतक्ष्य तर्फ उम्मेदवार हुनुहुन्न त्यस स्थानमा समानुपातिक तर्फ उम्मेदवार हुनुहुन्छ। तसर्थ विपक्षीले मतदाता भढ्काउनकै लागि गरिएका अभद्र आरोपको खण्डन गर्नु पर्ने जरुरी समेत ठानेको छैन।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?

हामी निर्वाचनको महान संग्राममा छौं। मुलुक गम्भीर आर्थिक संकटमा धकेलिने अवस्थामा पुगेको छ। एमसी र एसपीपी जस्ता बिदेशी दलालका योजना सफल पार्न लागेका देशद्रोहीको झुण्डले मुलुकको राष्ट्रियता अत्यन्तै कमजोर हुँदै गएको छ। यो पटकको निर्वाचनले राष्ट्रबादी र प्रगतीशील शक्तिलाई विजयी गराउने छ भन्ने पूर्ण विश्वास लिएको छु। मुलुक श्रीलंकाको अवस्थामा पुग्नबाट बचाउन जरुरी छ। हलो चिन्हका उम्मेदवारहरुलाई हलो चिन्हमा र एमालेका उम्मेदवारहरुलाई सुर्य चिन्हमा मतदान गरेर विजयी गराइदिनु हुन आम झापाली आमा बुवा , दाजुभाई र दिदीबहिनीलाई हार्दिक अपिल गर्दछु। साथै समानुपातिक तर्फ हलो चिन्हमा मतदान गरेर राप्रपालाई बैकल्पिक शक्तिको रुपमा स्थापित गरिदिनुहुन सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई दिदि बहिनिहरुमा हार्दिक अनुरोध गर्दछु।

प्रकाशित मिति: २०२२-११-०७ , समय : २१:४८:२८ , २ वर्ष अगाडि

error: Content is protected !!