‘चुनाव प्रचार-प्रसारमा बालबालिकाको प्रयोग नगर’

झापा एक्सप्रेस , २१४४३  पटक हेरिएको

बिर्तामोड । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा बालबालिका तथा विद्यार्थीलाई प्रयोग नगर्न नगराउन जिल्ला बाल सञ्जाल झापाले अपील गरेको छ ।

मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा विभिन्न राजनीतिक दलको चुनावी कार्यक्रम तथा भेलाहरुमा १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा विद्यार्थीलाई संगठित गर्ने, जुलुस तथा सभामा प्रयोग गर्ने गरेको देखिँदै आएको जनाउँदै उक्त कार्य तत्काल रोक्न सञ्जालले राजनीतिक दल तथा सरोकारवाला पक्षलाई आग्रह गरेको हो ।

आज शनिबार बालबालिका तथा शिक्षा सञ्चार मञ्चको सहकार्यमा तथा सम्बाद समूह झापाको सहयोगमा आयोजित ‘निर्वाचनमा बालबालिकाको प्रयोग न्यूनीकरणका लागि अपील’ विषयक अन्तरसंवाद कार्यक्रममार्फत् उक्त अपील गरिएको हो ।

उक्त कार्यक्रममा सहभागी जिल्लास्थित विभिन्न पालिकाका बाल सञ्जालका प्रमुख तथा प्रतिनिधिले चुनाव प्रचार–प्रसारका ध्वनि यन्त्रहरु समेत विद्यालयहाता वरिपरि बजाइएको भन्दै आपत्ति जनाएका छन् । चुनावी प्रचारका सामग्रीबाट विद्यार्थीको पठनपाठन र शैक्षिक वातावरणमा प्रत्यक्ष असर परेको उनीहरुको ठहर छ ।

बालबालिका ऐनमा उल्लेख गरे विपरीत कुनै पनि राजनीतिक दल संगठन वा व्यक्ति यस्ता कार्यमा बालबालिकाको प्रयोग गरे त्यसलाई कसुरको रुपमा मानी दफा ७२ मा ७५ हजार रुपैयाँसम्म जरिवाना र ३ वर्ष कैदको व्यवस्था गरेको समेत स्मरण गराएको छ ।

कार्यक्रममा बालबालिका तथा शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेल, जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्र, झापा गाउँपालिका बाल सञ्जालका अध्यक्ष निरञ्जन मैनाली, भद्रपुर नगर बाल सञ्जालका अध्यक्ष भावना पोखरेल, कमल गाउँपालिका बाल सञ्जालका अध्यक्ष विनोद थापा, शैशव मञ्च नेपाल झापाका अध्यक्ष टिकाराम बाँस्तोला, प्रवक्ता सन्देश दाहाल, कमल बाल सञ्जालका सचिव रञ्जना बस्नेत, जिल्ला बाल सञ्जाल सदस्य सौगात घिमिरेलगायतले जिल्लामा निर्वाचनका क्रममा देखिएका बालबालिकाको प्रयोग र न्यूनीकरणबारे आआफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति: २०२२-११-१३ , समय : १७:२६:४९ , २ वर्ष अगाडि

error: Content is protected !!