पत्रकार घिमिरेलाई ज्यान मार्ने उदेश्यले भौतिक आक्रमण भएको घटनाप्रति महासंघको आपत्ति

झापा एक्सप्रेस , १५८१८  पटक हेरिएको

झापा ।नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा सगरमाथा टेलिभिजनका झापा संवाददाता पुजन घिमिरेलाई ज्यान मार्ने उदेश्यले भौतिक आक्रमण भएको घटनाप्रति महासंघले आपत्ति जनाएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्र, नेपाल पत्रकार महासंघ प्रदेश नं. १ र महासंघ झापा शाखाले बुधवार (आज) छुट्टा छुट्टै बिज्ञप्ती जारी गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । गत कात्तिक २४ गते राति बिर्तामोडमा ज्यान मार्ने उद्देश्यले भौतिक आक्रमण र पत्रकार घिमिरेले प्रयोग गर्ने बीएए २६२७ नम्बरको कार तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ झापाको गम्भीर ध्यानाकर्षण भएको हो ।

पीडित पत्रकार घिमिरेका अनुसार बिर्तामोडको इलाका प्रहरी कार्यालयबाट केही पूर्वतर्फ रहेको पपुलर होटलमा खाजा अर्डर गरेर खानका लागि पर्खिरहेका बेला वियरको बोत्तल बोकेर अचानक होटल प्रवेश गरेका स्थानीय नितेश डाँगी नाम गरेका व्यक्तिले ’समाचार किन लेखेको ?’ भन्दै पत्रकार घिमिरेमाथि बोत्तल प्रहार गरेका थिए ।

बोत्तल होटलको ढोकामा लागेर फुटेको छ भने पत्रकार घिमिरे बच्न सफल भएको प्रहरीको भनाइ छ । पत्रकार घिमिरे त्यहाँबाट होटल सञ्चालकको सहयोगमा ज्यान बचाउन भागेपछि ती व्यक्तिले ईंटा प्रहार गरी गाडी तोडफोड गरेका थिए ।

बिर्तामोडका व्यवसायी दुर्गा प्रसाईले बीएण्डसी मेडिकल कलेजका लागि जग्गाधनी पूर्जा कीर्ते गरी सरकारी निकायमा पेश गरेर अस्पताल सञ्चालनको अनुमति लिएको र प्रसाईले दुवईमा कम्पनी खोली अवैधरुपमा करोडौं नेपाली रुपैयाँ पुर्याएर व्यवसाय शुरु गरेको भन्ने विषयमा सगरमाथा टेलिभिजन लगायतका सञ्चारमाध्यममा प्रशारित समाचारको विषयलाई लिएर पत्रकार घिमिरेलाई केही व्यक्ति तथा समूहले भौतिक कारबाहीको धम्की दिँदै आएको थियो ।

दुर्गा प्रसाईकै निर्देशनमा नितेश डाँगी लगायतका व्यक्ति आफूमाथि आक्रमण गर्न आएको पत्रकार घिमिरेको दाबी छ । पत्रकार घिमिरेमाथिको धम्कीको निन्दा गर्दै गत कात्तिक २० गते नेपाल पत्रकार महासंघ झापाले धम्की दिने व्यक्तिलाई कानूनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन स्थानीय प्रशासन तथा सरकारको ध्यानाकर्षण गराएको थियो ।

पत्रकारलाई असुरक्षित बनाउने गरी धम्की दिने, आक्रमण गर्ने जस्ता अराजक गतिविधिको निन्दा र भत्सना गर्दै उक्त घटनाको वास्तविकता छानविन गरी दोषीलाई तत्काल पक्राउ गरेर कानुनी कार्वाही प्रक्रिया अघि बढाउन तथा पत्रकारको सुरक्षाको ग्यारेण्टी गर्न स्थानीय प्रहरी, प्रशासन एवं सरकारको ध्यानाकर्षण गराएको महासंघका महासचिव रोशन पुरी, प्रदेश नं. १ का महासचिव विवेक गौतम र झापासचिव सचिव डिकेश लामाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति: २०२२-११-१६ , समय : १६:४०:१२ , २ वर्ष अगाडि

error: Content is protected !!