झापा एक्सप्रेस , २४३०८ पटक हेरिएको
शरणामती-झापाको झापा गाउँपालिका ३ स्थित रंगपुरमा रहेको साधना संस्कृति नमुना कषि फर्मलाई ढुवानीको साधन सहित कृषि सामाग्रीहरु उपलब्ध गराइएको छ ।
कृषि ज्ञान केन्द्र झापाले उक्त कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा केरा ढुवानीकालागि १ थान ट्याक्टर सहित सिंचाईको मोटर तथा अन्य कृषि सामाग्री प्रदान गरेको हो ।
बिहिबार उक्त फर्मको सभाहलमा आयोजित एक कार्यक्रमकाबिच ज्ञान केन्द प्रमुख सागर बिष्टले साधना संस्कृति नमुना कृषि फर्मको अध्यक्ष लक्ष्मी तिम्सिना बस्नेतलाई ट्याक्टरको चाबी हस्तानतरण गरेका थिए । साथै केरा खेतीकालागि आवश्यक पर्ने सिंचाईकोलागि पानी तान्ने मोटर ५ थान प्रदान गरेका थिए ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरर्गत आर्थिक बर्ष २०७९÷०८० कालागि केरा ब्लक विकास कार्यक्रमको सम्झौता अनुसार अनुदानमा साधना फर्मलाई ट्याक्टर तथा पानी तान्ने मोटर सहित , जोत्ने हलो, तथा रोडा भेटर , टेका लगाउनकालागि बांस, सिंचाईकोलागि पीभिसी पाइप लगायतका सामाग्री प्रदान गरिएको ज्ञान केन्द्र प्रमुख सागर विष्टले जानकारी दिए ।
उनले प्रधानमन्त्री कृषि आधुनिकीकरणको ब्लक कार्यक्रमबाट किसानहरूलाई सहयोग गरिएको बताए । चालु भन्दा पुँजीगत खालको खर्चमा सहयोग बढी गरेको विष्टको भनाई छ ।
‘गाउँका किसानहरुले निर्णय गरेर जे सहयोग आवश्यक छ, त्यो माग्नु हुन्छ र हामी उपलब्ध गराउँछौं,’ विष्टले भने, ‘सिंचाइको व्यवस्था र केरा ढुवानीका लागि आवश्यक पर्ने साधनमा ५० प्रतिशत अनुदान उपलब्ध गराएका छौं ।’
बर्षादको समयमा केरा ढुवानीकालागि समस्या भोग्दै आएका किसानकालागि उपलब्ध गराइएको ट्याक्टरले धेरै नै सहजता प्रदान गर्ने साधना संस्कृति नमुना कृषि फर्मका सदस्य तथा कृषक चन्द्र बस्नेतले बताए ।
उनले कार्यक्रममा व्यवसायीक केरा खेती गर्दै आएका किसानकालागि यस्ता उपलब्ध गराइएका ढुवानीका साधनहरुले धेरै नै सहयोग पुग्ने धारणा राखेका थिए ।
उनले फर्मले गर्दै आएको गतिविधि सहित आर्थिक हिसाब किताब पनि सार्वजनिक गरेका थिए । बस्नेतका अनुसार ६० थान पिभिसि पाइप, ५ थान मोटर, बिषदी, केराको बेर्ना लगायतका सामाग्री ज्ञान केन्द्रले दिएको उनले जानकारी दिए ।
उनले २३ लाख ८६ हजार ३ सय ७५ रुपैंयामा खरिद गरिएका सामाग्रीमा ज्ञान केन्द्रले १३ लाख उपलब्ध गराएको थियो ।
गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यता, फर्मको अध्यक्ष लक्ष्मि तिम्सीना बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी जगनाथ पौडेल, प्रमुख अतिथि थपलिया, ज्ञान केन्द्र प्रमख बिष्ट लगायतले शुभकामना मनतब्य राखेको कार्यक्रमको सञ्चालन गाउँपालिका कृषि शाखा प्रमुख रिता बर्देवाले गरेकी थिइन ।
कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले वितरण गरिएका यस्ता सामाग्रीले आफुहरुलाई सहज हुने कृषकहरुको भनाई छ । सो फर्ममा १६ जना किसानले करीब १ सय ५ हेक्टरमा व्यवसायीक केरा खेती गर्दै आएका छन् ।
प्रकाशित मिति: २०२२-११-२५ , समय : ०९:१२:५३ , २ वर्ष अगाडि