झापामा ८४ जनाले बुझाए चुनावी खर्च विवरण

झापा एक्सप्रेस , २२७७२  पटक हेरिएको

झापा-झापाबाट प्रतिनिधिसभामा र प्रदेशसभाबाट उम्मेदवार बनेका एक सय ९२ उम्मेदवारमध्ये ८४ जनाले मात्र आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म चुनावी खर्च विवरण बुझाउनेमा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनी विजयी बन्नुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओेलीसहित विभिन्न राजनीतिक दल र स्वतन्त्रका गरी ८४ जनाले खर्च विवरण बुझाएका हुन् । ठूला दलबाट निर्वाचन खर्च बुझाउनेमा हालसम्म अध्यक्ष ओली मात्र रहेको निर्वाचन कार्यालयका नासु प्रेम गुरागाईंले जानकारी दिनुभयो ।

उहाँले अध्यक्ष ओलीले प्रचार सामग्री छपाइ, यातायात, खाजा, खाना, सम्पर्क कार्यालय स्थापना लगायतको शीर्षकमा रु १८ लाख ८२ हजार चुनावी खर्च भएको विवरण कार्यालयमा बुझाएको बताउनुभयो । निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने प्रावधान रहे पनि उम्मेदवारले खर्च विवरण बुझाउन विलम्ब गरिरहेको उहाँको भनाइ छ ।

उहाँले नेपाल मजदूर किसान पार्टी(नेमाकिपा)का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुभएका कृष्ण गोपाल, महेन्द्र खायामलीलगायतले भने चुनावी खर्च शून्य भएको विवरण बुझाएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२२-१२-१२ , समय : १७:०३:४८ , २ वर्ष अगाडि

error: Content is protected !!