झापा एक्सप्रेस , १८०४० पटक हेरिएको
झापा । झापाको मेचीनगर १३ स्थित चारआली जंगलमा आज फेला परेको दुईवटा शवको पहिचान भएको छ । अर्जुनधारा ११ मूल घर भएका ५२ वर्षिय नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती ४२ वर्षिया सन्जु इङ्नाम लिम्बू भएको पहिचान खुलेको हो ।
कुहिन लागेको शव सोमवार दिउँसो भेटिएको थियो । ‘दुवै जनाको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको हो,’ इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले भने, ‘पुरुष झुन्डिएको र महिला भुइँमा लडेको अवस्थामा भेटिएको हो, शवको प्रकृति हेर्दा करिब १० दिनअघि मृत्यु भएको अनुमान गर्न सकिन्छ । ’
नेत्रकुमार इङ्नाम लिम्बूले श्रीमती सन्जु इङ्नाम लिम्बूको हत्या गरेपछि आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।
प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल, रस्सी फेला पारेको छ। सोमबार दिउँसो साढे २ बजे जंगलभित्र घाँस दाउरा टिप्न गएका स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। त्यसपछि डीएसपी महतोको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
इङ्नाम दम्पत्ति करिव १० दिनदेखि डेराबाट बेपत्ता रहेको जनाइएको छ । इङ्नाम दम्पत्ति मेचीनगर –१२मा डेरा बस्दै आएको अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङ्नामले बताए । मूल घरबाट उनीहरुले अंश लिइसकेका थिए । करिव एक–डेढ वर्षदेखि इङ्नाम दम्पत्ति घुम्दै काम गर्दै हिडेको पाइएको वडाध्यक्ष इङ्नामले बताए । नेत्रकुमारले सन्जुसंग दोस्रो विवाह गरेका थिए । सम्बन्ध विच्छेद भइसकेको नेत्रकुमारको पहिलाको श्रीमतीपट्टि सन्तान रहेको जनाइएको छ । तर, सन्जुपट्टि सन्तान नरहेको वडाध्यक्ष इङ्नामले बताए ।
नेत्रकुमारको घाटीमा डोरी भेटिएकाले उनले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले बताए । तर, सन्जुको घाटीमा डोरी नभेटिनुले श्रीमतीको हत्यापछि उनले आत्महत्या गरेको हुनसक्ने पाठकले आशंका गरे ।‘घटनास्थलमा हतियार भेटिएकाले हत्यापछि आत्महत्याको आशंका गरिएको हो ’उनले भने,‘पोस्टमार्टम रिपोर्टले मात्र यसको पुष्टि हुनसक्छ । ’ घटनास्थलमा भेटिएको दाउ नेत्रकुमारले घरबेटीको घरबाट मागेका थिए ।
उनीहरु गत मंसिर २१ गतेबाट परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । सन्जुको टाउकोमा हतियारको चोटजस्तो देखिएको तर शव कुहिसकेकाले स्पष्ट ठम्याउन नसिकएको डीएसपी पाठकले बताए । घरबाट अंश लिइसकेर मासिसकेको र जेठी श्रीमतीसंग सम्बन्ध विच्छेद भएर कान्छीसंग बस्नुपर्दा पारिवारिक तनाव र कलहका कारण उनीहरुबीच सो घटना भएको हुनसक्ने आशंका गरिएको हो । दुबै शवको सम्पूर्ण कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि साँझ ७ बजे धरान घोपा पठाईएको डीएसपी पाठकले बताए ।
प्रकाशित मिति: २०२२-१२-१९ , समय : २०:४३:४१ , २ वर्ष अगाडि