माओवादी केन्द्रले बिर्तामोडमा बुझायो ध्यानाकर्षण पत्र

झापा एक्सप्रेस , २८६२४  पटक हेरिएको

बिर्तामोड । बिर्तामोड नगरपालिकाले अपनाएको औषधि खरिद तथा वितरण प्रक्रियाप्रति नेकपा माओवादी केन्द्रले ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्र बिर्तामोड नगर समितिले बुधबार बिर्तामोड नगरपालिकाका प्रमुख पबित्रा महतारा प्रसाईलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

पालिकाले औषधि खरिद तथा वितरण प्रक्रियामा लिएको कदम आपत्ति जनक भएको भन्दै माओवादी केन्द्रले ध्यानाकर्षण पत्र बुझाएको हो । ‘नेपालको संविधान २०७२ को स्वास्थ्य सम्बन्धि मौलिक अधिकार समेत हनन हुने निहित स्वार्थ केन्द्रित गलत हर्कतले नगरबासी लाखौँ नागरिकहरुको जनजिवनमा प्रत्यक्ष असर परेको छ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

औषधि खरिद गर्दा विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भएको जिएमपी गाइडलाइन अनुसार खरिद नगरी त्यसको बिपरित आफ्नो अनुकूल र स्वार्थ मिल्ने तरिकाले देख: हर्बल्स प्रा.लि. लगायतसँग पालिकाले सम्झौता गरेको भन्दै माओवादी केन्द्रले त्यसको बिरोध गर्दै उक्त बोलपत्र खारेज गर्न माग गरेको हो । माओवादी केन्द्रले स्वास्थ्य बीमा बोर्डसँग नगरपालिकाले गरेको सम्झौता अनुसारका अधिकतम औषधि आफ्नै फार्मेसीबाट उपलब्ध गराउन माग गरेको छ ।

शिक्षा, स्वास्थ्य जस्ता जनताको मौलिक हक बिरुद्ध कुनै गतिविधि नगर्न र त्यस्ता गतिविधि भए आन्दोलनको अग्रभागमा रहने नगर कमिटी अध्यक्ष मोहन सुब्बाले जानकारी दिए ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै नगर प्रमुख प्रसाईले अन्य पालिकाले गरेको अनुभवको आधारमा औषधि खरिद र वितरणलाई ठेक्का प्रक्रियामा लगिएको जानकारी दिइन । उनले औषधिको गुणस्तरको बिषयमा बुझेर जानकारी दिने बताइन ।

बिर्तामोड १० को एक विद्यालयमा आर्थिक अनियमितता भएको बिषयलाई नगरपालिकाले हस्तक्षेप गर्न र आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने पार्टीका नगर उपाध्यक्ष कमल कडरीयाले नगर प्रमुख समक्ष प्रतिवद्धता जनाए । माओवादी केन्द्रले स्वास्थ्य, शिक्षा, विकास निर्माणजस्ता कार्यमा कमजोरी भए नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएको नगर सचिव गणेश ‘सौगात’ कालिकोटेले जानकारी दिए ।

नगर कमिटी उपाध्यक्ष जेबी जबेगु, युवा नेतृ छायाँ सिग्देल, सुदिप खवासलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२३-०२-१५ , समय : २१:०४:५५ , २ वर्ष अगाडि

error: Content is protected !!