झापा एक्सप्रेस , ४९०८२ पटक हेरिएको
शरणामती-फागुन ७ गते देखी झापाको भद्रपुरमा हुन लागेको भद्रपुर झापा गोल्डकप हेर्नका लागी १५० रुपैयाँ टिकट दर राखिएको छ ।रोचक त के छ भने १५० रुपैयाँको टिकटमा दर्शकले १४० रुपैयाँको जुस पाउने भएका छन् ।बाँकी रहेको १० रुपैयाँमा भाग्यचिठ्ठामा भाग लिन पाउने छन् ।भाग लिएर प्रथम हुने ५ जनाले २४ इन्चको टेलिभिजन र ३ वटा हवाई टिकट पाउने आयोजकले जनाएको छ ।
यसैबीच शनिवार आयोजक समितिले पत्रकार सम्मेलन गर्दै भद्रपुरस्थित मेची रंगशालामा भोलि आइतवारदेखि सुरू हुने भद्रपुर झापा गोल्डकपको तयारी पूरा भएको जनाएको छ ।समितिका महासचिव जीवनकुमार श्रेष्ठले नेपाल , भारत तथा भुटानका गरी १० टिमको सहभागिता हुने गोल्डकपमा खेल व्यवस्थापन, पुरस्कार तथा सम्मान र खेलाडी व्यवस्थापनका लागि आवश्यक तयारी भइसकेको जानकारी दिनुभयो ।
समितिका बरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीका अनुसार आइतवार हुने आयोजक टिम भद्रपुर ब्लेजर्स र भारतको जयगाउँबिच उद्घाटन खेल हुनेछ ।यस्तै प्रतियोगितामा नेपाल आर्मी ,नेपाल पुलिस, सशस्त्र प्रहरी, संकटा, मनाङमस्र्याङ्दीलगायतका नेपालका ख्यातिप्राप्त ए डिभिजन टिमको सहभागितामा रोचक प्रतिष्पर्धाका साथ प्रतियोगिता सम्पन्न हुनेछ ।
प्रतियोगितामा प्रथम पुरस्कार १३ लाख र द्वितीय पुरस्कार ७ लाख राशिको रहेको छ ।मेची रंगशाला हुने गोल्डकपको लागि खेलमैदानलाई खेल्न योग्य बनाउने काम पूरा भएको छ । आयोजक समितिले नेपाल तथा भारतका समेत खेलपे्रमी दर्शकलाई मध्यनजर गर्दै यातायात तथा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।गोल्डकपमा जेष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क हेर्न दिने व्यवस्था मिलाइएको छ भने भद्रपुर नगरपालिका भित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समेत आलोपालो खेल हेर्न दिइने छ ।
गोल्डकप समितिका अध्यक्ष दिपेश ढकालले रंगशालामा २० हजार दर्शकले एकैचोटी खेल हेर्ने गरी स्थायी र अस्थायी प्यारापिट तयार पारिएको बताउनुभएको छ ।भौतिक पूर्वाधार भएर पनि मेची रंगशाला दुई दशकयता खेलविहीन अवस्थामा रहेको भन्दै भद्रपुर नगरपालिकाले पहिलो पटक नीतिगत रूपमै बजेटमा समेटेर मेची रंगशालालाई चलायमान बनाउन ‘भद्रपुर झापा गोल्डकप’ को आयोजना गरेको हो । नगरपालिकाले ३० लाख रुपैँया गोल्डकपका लागि खर्चदैछ ।
प्रकाशित मिति: २०२३-०२-१८ , समय : २०:४३:५६ , २ वर्ष अगाडि