भद्रपुर झापा गोल्डकप-आयोजकलाइ हराउँदै संकटा सेमिफाइनलमा

झापा एक्सप्रेस , ३९७८८  पटक हेरिएको

भद्रपुर – झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा संकटा क्लब काठमाडौँ प्रवेश गरेको छ ।आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै संकटाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

मेची रंगशालामा मंगलबार भएको पहिलो क्वार्टर फाइनल खेलमा संकटाका मनिष डाँगीले गरेको गोल नै निर्णायक बनेको थियो । मनिसले खेलको पाँचौँ मिनेटमा गोल गएका थिए ।घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको भद्रपुर ब्लेजर्सले आक्रमक खेल खेले पनि पराजित हुन पुग्यो । आयोजकले खेल अवधिभर दर्जन भन्दाबढी अवसर बनाउँदा पनि सदुपयोग गर्न सकेन ।

सुरुवातमै दबाबमा परेको आयोजक गोल गर्न चुक्दा क्वार्टर फाइनलबाटै बाहिरनुप¥यो । आयोजक भद्रपुर ब्लेजर्सका दुई गोल बारमा ठोकिएर फर्कियो । पहिलो गोलपछि भने संकटाले थप गोल गर्न सकेन । त्यसपछि संकटाले रक्षात्मक खेल खेल्यो ।प्लेयर अफ द म्याच संकटाका गोलरक्षक टिकेन्द्रसिंह थापा घोषित भए।उनले नगद २० हजार पुरस्कार प्राप्त गरे।

बुधबारको क्वार्टर फाइनल खेल चर्च ब्वाइज र गत वर्षको लिग विजेता मछिन्द्र क्लबबीच हुने भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले बताए।प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने बताइएको छ ।

प्रथम भद्रपुर झापा गोल्डकपलाई चौधरी ग्रुपको मुस्ताङ बियरले मुख्य प्रायोजन गरेको छ ।

प्रकाशित मिति: २०२३-०२-२१ , समय : १८:५७:५३ , २ वर्ष अगाडि

error: Content is protected !!